Thursday, December 13, 2018

अध्याय-२

                                            अध्याय दूई - गीताको सार



संजयले भने : टीठ लाग्दा, शोकाकुल एवं गहभरि आँसु लिएका अर्जुनलाई देखेर श्रीकृष्णले यसरी भन्नुभयो |
भगवानले  भन्नुभयो : हे अर्जुन ! यस्तो विषम बेलामा यस्ता काम नलाग्ने विचार तिम्रो मनमा कसरी आए ? यी विचारहरू परिस्थितिसँग मेल नखाने, अपयश दिलाउने र नरकमा प्राप्तिका लागि अनुकूल देखिन्छन् |
हे पार्थ ! नामर्द नहोऊ, तिमीजस्तो  बीरलाई यो शोभा दिंदैन | हे तपस्वी !  हृदयको तुच्छता  त्यागेर लडाईं गर्न उठ |
अर्जुनले भने : हे शत्रुहन्ता श्रीकृष्ण ! आसन्न युद्धमा मैले भीष्म एवं द्रोणजस्ता आदरणीय महानुभावहरुलाई आफ्ना बाणहरू कसरी प्रयोग गरुँ ?
श्रेष्ठगुरुजनहरूको हत्या गर्नु भन्दा र बरु मगन्ते बनेर संसारमा जीवित रहनु उचित हुन्छ | संसारको चाहनामा भए तापनि यी सबै मेरा गुरुजन हुन् | यी मारिदा हामीले जोहो गर्न चाहेका हरेक बस्तु रगतले भिजेका हुनेछन् |
तिनले विजय प्राप्तगरेमा असल हुन्छ अथवा तिन्लाई हामीले जिते राम्रो हुन्छ, यो कुरा हामीलाई जानकारी छैन | हामीले युद्धमा नमार्न चाहेका धृतराष्ट्रका सन्तानहरू अहिले यहा युद्धभूमिमा उभिई रहेका देखिन्छन् |
करुणा अथवा बौद्धिक दुर्वलताको दोषले गर्दा अहिले मैले मेरो असल कर्तव्य के हो भनेर ठम्याउन सकिरहेको छैन र सम्मोहितझैँ छु | यस्तो अवस्थामा म हजुरको शरणमा परेर मेरो परम कर्तव्य के हो भनेर सोधिरहेको छु | म तपाईंकै शिष्य हुँ, अत: कृपा गरेर मलाई उचित अर्ति-उपदेश प्रदान गर्नुहोस् |
मेरा इन्द्रियलाई कमजोर तुल्याउने यस्तो यो शोक हटाउनेसम्मको द्कुनै उपाय मैले देखेको छैन | स्वर्गका देवताहरुले झैँ यो संसारभरिको सम्बृद्धिशाली राज्य पाए पनि म यो शोकवाट मुक्त हुन सक्दिन |
संजयले भने  यति भनेपछि शत्रुलाई दवाउने अर्जुनले श्रीकृष्णसंग गोविन्द म लड्दिन भनि चुप लगेर बसे |
१०
हे भरतबंशी धृतराष्ट्र ! त्यस बेला दुवै सेनाको माझमा उभिए र शोकाकूल अर्जुनलाई हेहेर हाँस्दै श्रीकृष्णले यसरी भन्नुभयो |
११
श्रीभगवानले भन्नुभयो : तिमी कुरा त विद्वानझैं गर्छौं तर जसकालागि शोक गर्नु नपर्ने हो त्यसैका लागि शोक गरिरहेका छौ | विद्वानहरुले जिउदो अथवा मरेको दुबैका लागि शोक गर्दैनन् |
१२
आजभन्दा अघि म नभएको, तिमी र यी राजाहरु नभएको समय थिएन र भबिष्यमा पनि हामी सबै नहुने सम्भावना छैन |
१३
जसरी यो शरीरधारी आत्मा क्रमशः बाल्यावस्थावाट युवावस्था, युवावस्थावाट वृद्धावस्थातिर सर्किरहेछ त्यसैगरी यो आत्मा पनि फरक-फरक शरीरमा सर्छ | यस प्रकारको परिवर्तनलाई देखेर धीर पुरुषहरु मोह्ग्रस्त हुदैनन् |
१४ 
हे कुन्तीपुत्र ! दुख र सुख र गर्मी र जाडोझैँ आउने जाने अस्थायी कुरा हुन् | अत: हे भरतबंशी अर्जुन ! यस्ता कुरालाई हरेक मानिसले विचलित नभइकन सहन गर्न जान्नुपर्छ |
१५
हे अर्जुन | जुन मानिस सुखदुखबाट बिचलित हुँदैन र दुवै अवस्थामा एकै रहन्छ, त्यो मानिस नै मुक्ति पाउनेलायक हुन्छ |
१६
अस्तित्वरहित बस्तु अस्तित्वमा आउन सक्दैन र अस्तित्वमा रहेको बस्तु हराउन सक्दैन | आत्म र शरीर यी दुबैका प्रकृतिको निरीक्षण गरेर तत्वदर्शीहरुले यस्तो निचोड निकाले | 
१७
सम्पूर्ण शरीरहरुमा भरिएर रहेको तत्वलाई तिमीले अविनाशी भनेर बुझ्नुपर्छ | त्यस अविनाशी आत्मतत्वलाई कसैले नाश पार्न सक्दैन |
१८
विनासरहित, नाप्न नसकिने र नित्य रहिरहने जीवात्माको भौतिक शरीर नाशवान् छ | अत: हे भरतबंशी अर्जुन तिमी लडाईं गर |
१९
जसले यो आत्मालाई मार्नेवाल ठान्दछ र जसले यसलाई मर्नेवाल जान्दछ, ती दुबै अज्ञानी हुन् | यो आत्मा न त मर्छ न ता मारिन्छ |
२०
आत्मा न जन्मन्छ न ता मर्छ | आत्मा कहिल्यै जन्मिएन, जन्मिदैन र जन्मिने छैन | ऊ अजन्मा, नित्य, शाश्वत र पुरातन छ | शरीर मर्दा पनि ऊ रहिरहन्छ |
२१
हे पृथापुत्र ! जसले यो आत्मा अविनाशी, नित्य, अजन्मा र अब्यय छ भनेर जान्दछ त्यसले कसरी अरुलाई मार्ला अथवा हत्या गर्न लगाउन सक्ला ?
२२
जसरी मानिसले पुराना लुगा फलेज नयाँ लुगा लगाऊछ त्यसै गरी आत्माले पनि पुरानो मकिएको शरीरलाई छोडेर नयाँ शरीर धारण गर्छ |
२३
यो आत्मालाई कुनै हतियारले टुक्रा पर्न सक्दैन, आगोले जलाउन सक्दैन, न पानीले भिजाउँन सक्छ न ता हावाले नै सुकाउन सक्छ |
२४
यो (आत्मा) कहिल्यै नफुट्ने, न डढ्ने, नभिज्ने र नसुक्ने खालको छ | सदैब रहिरहने, सर्वत्र फैलिएर रहेको, अपरिवर्तनशील, अचल, र एकैनासको छ |
२५
यो (आत्मालाई) प्रकट नभइसकेको, बिचार गर्न नसकिने र अपरिवर्तनीय भन्ने मानिन्छ | त्यसैले यो कुरा बुझेर तिमीले शरीरका लागि शोक गर्नुहुँदैन |
२६
हे लामालामा हात भएका अर्जुन ! यदि तिमीले आत्मालाई जन्मिरहने र मरिरहने भन्ने बुझेका छौ भने तापनि यसका लागि शोक गरिरहनु पर्ने कुनै कारण छैन |
२७
जन्मलिनेको मृत्यु र मृत्युहुनेको जन्म अनिवार्य कुरा हो | अत: तिमीले आफ्नो अनिवार्य कर्तब्य पालन गर्नैपर्छ र यसका लागि सोच गर्नुपर्दैन |
२८
जन्मअघि कुनै पनि जीव देखिन्न् | जन्मेपछि ती सबै बीचमा देखापर्छन् र अन्यमा मरेपछि पुन: ती अब्यक्त नै हुन्छन् | अत: हे अर्जुन ! त्यसका लागि केको चिन्ता गर्ने !
२९
यो (आत्मालाई) कसैले आश्चर्यका रुपमा हेर्छन्, कसैले आश्चर्यका रुपमा चर्चा-परिचर्चा गर्छन्, कतिले आश्चर्यका बारेमा सुन्छन् र केहीले यसका बारेमा सुनेर पनि केही बुझ्न सक्दैनन् |
३०
हे भरतबंशी अर्जुन ! शरीरसंग रहेको यसको स्वामीलाई कहिल्यै मार्न सकिन्न त्यसैले कुनै पनि जीवात्माका लागि तिमीले शोक गर्नुपर्दैन |
३१
आफ्नो कर्तब्य र सिद्धान्तलाई राम्रोतवरले विचार गरेर एउटा क्षेत्रीलाई युद्धभन्दा असल अन्य बिकल्प छैन भन्ने कुरा तिमीले बुझ्नुपर्छ र यस्तो काम गर्न कुनै प्रकारको लाज मान्नुहुँदैन |
३२
हे पार्थ ! स्वर्गको खुलेको ढोका स्वत: प्राप्त यस्तो उचित युद्धको अवसर त ज्यादै भाग्यवान् र सुखी क्षेत्रीयहरुले मात्र प्राप्त गर्छन् |
३३
यदि कुनै कारणबस स्वत: प्राप्त भएको युद्धगर्ने यस्तो सुनौलो अवसरलाई उपयोग गरेनौ भने तिमीलाई आफ्नो कर्तव्य पूरा नगरेको पाप लाग्छ र तिमीले एउटा बीरयोद्धाका रुपमा कमाएको यश पनि गुमाउनेछौ |
३४
मानिसहरुले सधैं तिम्रो कुरा काट्नेछन् | एउटा प्रतिष्ठित मानिसका लागि अपयश भन्दा कष्टकर मृत्यु पनि हुँदैन |
३५
जुन-जुन बीरहरुले तिमीलाई योद्धाका रुपमा सम्मानित गरेका छन्, तिमी युद्धबाट बिमुख भयौ भने तिनीहरुका लागि तिम्रो कुनै पनि मूल्य रहनेछैन |
३६
तिम्रा शत्रुहरु तिम्रो उपहास गर्दै निन्दा गर्ने छन् | तिम्रोलागि यो भन्दा दुखदायी कुरा अरु के होला ?
३७
हे कुन्तिपुत्र ! युद्धमा तिमी मरे स्वर्ग जानेछौ भने जिते धरतीको राज्य पाउने छौ | अत: युद्धका लागि निश्चय गरेर उठ र लडाईं लड |
३८
सुखदुख, लाभहानि, विजय-पराजयका बिषयमा विचारै नगरी तिमी केवल लडाईंका लागि युद्ध गर | यसो गरे तिमीलाई कुनै प्रकारको पाप लाग्ने छैन |
३९
यसरी मैले जानेको कुरा तिमीलाई सुनाए | अब म बुद्धियोगका बारेमा तिमीलाई केही उपदेश दिन्छु, सुन | जुनकुरा तिमीले धारण गर्र्यो भने आफुलाई कर्मबंधनबाट मुक्त गर्न सक्छौ | 
४०
(बुद्धियोगको) अभ्यासमा कुनै विद्ध अथवा हानि छैन | असल मार्गतिर गरिएको सानो प्रयत्नले व्यक्तिलाई ठूला-ठूला डरहरुबाट जोगाउछ |
४१
एउटा उद्देश्यमा टिकेको बुद्धि स्थायी हुन्छ भने उद्देश्य छरिएको भएमा त्यही बुद्धि अस्थिर र अनन्त देखिन्छ |
४२-४३
थोरै ज्ञान भएका मानिसहरू वेदको मूलअर्थ बुझ्दैनन् र त्यसमा अल्मलिन्छन्, आशक्त हुन्छन् अनि, स्वर्ग, नर्क, पूनर्जन्मकारी कर्मकाण्डमा लाग्छन् | तिनका लागि कर्मकाण्डसरह असल कुनै कुरा हुँदैन |
४४
इन्द्रियसुखको लागि सम्पत्ति कमाउन मरिहत्ते गर्ने र सांसारिक बस्तुप्राप्तिका खातिर लागि परेको अशान्त बुद्धिले समाधिको अनुभव गर्न सक्दैन |
४५
वेदमा सत्व, रजस् र तमस् प्रकृतिका यी तीन गुणहरुबारे वर्णन गरिएको छ | अत: हे अर्जुन ! तिमी यी गुणहरूबाट उपर उठेर हरेक प्रकारका द्वैधचरित्रबाट मुक्त होउ र आफ्नो प्राकृतिक आत्मामा स्थापित होउ |
४६
जसरी एउटा धुलो तलाउ पाएपछि सानो इनारमा रहेको पानीको औचित्य रहन्न त्यसरी नै वेदको मूलआसय बुझेपछि वेदलाई बुझेको ठहर्छ |
४७
तिमीले आफ्नो कर्म गर तर फलको चाहना नगर | तिमीले आफुलाई कर्मको कारण नठान र कर्तव्यबाट बिमुख पनि नहोऊ |
४८
हे अर्जुन ! सफलता र असफलतालाई समान ठानेर र सबै प्रकारको संगति त्यागेर आफ्नो कर्तब्य पालन गर | यस्तो समभावलाई नै योग भनिन्छ |
४९
हे धनन्जय ! बुद्धिबाट सहयोग प्राप्त गरी अकुशल कर्महरुबाट दूरी वढाउ | स-साना फलको चाहना त्यागेर बुद्धिमा आश्रित हुने प्रयत्न गर |
५०
बुद्धिको आश्रय लिएर गरिएका शुभ-अशुभ कर्मको फलबाट यसै जीवनमा मुक्ति मिल्नसक्छ अत: विवेकयुक्त भएर कर्ममा लग र कुशल योगी बन |
५१
यसरी विवेकशील भएर योगीहरुले संसारिक फलासाबाट आफुलाई मुक्त पार्छन् र यस संसारको जन्ममृत्युको चक्रबाट मुक्तभई अनामय अबस्थामा प्रवेश गर्छन् |
५२
जव तिम्रो बिबेकले मोहरुपी जंगललाई पार गर्नेछ, त्यस बखत तिमी सुनिसकिएका र सुन्नुपर्ने कुराहरुबाट अलग हुनेछौ |
५३
जब तिम्रो मन अनेकार्थी बेदबचनबाट द्विविधामा पर्नेछैन र बिबेकमै स्थीर रहने छ अनिबल्ल तिमीले दिव्य चेतना प्राप्त गर्नेछौ |
५४
अर्जुनले भने : हे केशब ! स्थितप्रज्ञ र समाधिमा रहेका व्यक्तिले कुन् भाषा बोल्छन्, के बोल्छन्, कसरी बस्छन् अनि, कसरी हिंडछन् |
५५
भगवानले भन्नुभयो : हे पार्थ ! जव मानिसले आफ्नो मनका सम्पूर्ण चाहनालाई त्याग्छ र आफूभित्रनै आनन्द अनुभव गरेर सन्तोष प्राप्त गर्छ, त्यो नै स्थितप्रज्ञ हो |
५६
दुख पाएको बेला अशान्त नहुने र सुख प्राप्त हुँदा नमात्तिने, आशक्ति रहित, डर एवं क्रोधउपर नियन्त्रण प्राप्त ब्यक्तिलाई मुनि एवं स्थीरप्रज्ञ भनिन्छ |
५७
जताततै अनादर पाउँदा पनि जसले राम्रो-नराम्रो, शुभ-अशुभ भनेर प्रशंसा अथवा आलोचना गर्दैन, त्यही नै बिबेकी वा प्रज्ञावान् व्यक्ति हो |
५८
जसरी कछुवाले आफुलाई खप्परभित्र खुम्च्याउछ त्यसरी नै आफ्ना इन्द्रियहरूलाई तिनका विषयवस्तुबाट जसले हटाउछ, ऊ नै बिबेकी व्यक्ति हो |
५९
कुनै देहधारीका इन्द्रियहरू निर्बल भए तापनि तिनमा भोगको चाहना मेटिदैन तर त्यसभन्दा उपल्लोस्तरको स्वाद पाएपछि त्यसको चाहना हराउछ |
६०
हे कुन्तिपुत्र | यसरी इन्द्रियहरूलाई नियन्त्रण गर्ने प्रयत्न गर्दागर्दै पनि बलबान् इन्द्रियहरुले बिबेकीमनलाई अपहरण गर्छन् |
६१
जसले आफ्ना इन्द्रियहरुका क्रियाकलापलाई नियन्त्रणमा राखेर ती उपर अधिकार जमाएको र विवेकलाई ममा स्थापित गरेको छ, त्यही व्यक्ति बुद्धिमान् हुन्छ |
६२
इन्द्रियका विषयहरूको चिन्तन गर्दागर्दै मानिस तिनै बिषयमा रुल्मुलिन पुग्छ, यस्तो आशक्तिले यौन-चाहना हुन्छ र यसबाट रीस उत्तपन्न हुन्छ |
६३
रीसले सम्मोह जन्माउछ, सम्मोहले  सम्मोहले स्मरणशक्ति घटाउछ, यसबाट मन विचलित भई बिबेकहीन हुन्छ अनि, विनाश निम्तिन्छ |
६४
रागद्वेषबाट मुक्तभई स्वेच्छाले आफ्ना इन्द्रियहरुउपर बिजय प्राप्त गरेको मानिसले आध्यात्मिक पूर्णता प्राप्तगर्छ |
६५
आध्यात्मिक पूर्णता प्राप्तका साधकका सबै दुखहरू मासिन्छन् र उसको बिबेक चाडैं नै स्थीर आध्यात्ममा स्थीर हुन्छ |
६६
आध्यात्ममा संलग्न नभई कसैको बुद्धि वा मन स्थीर हुन सक्दैन | अस्थिर मन भएकाले शान्ति पाउन्न र अशान्तले कसरी सुख पाउन सक्छ र ?
 ६७
बलियो हावाको झोकाले डुंगालाई एकातिर हुत्याएझैँ (बाहिरी बिषयमा) रमिरहेको एउटै इन्द्रियले पनि बिबेकको एकाग्रतालाई सजिलैसंग भताभुंग पार्नसक्छ |
६८
हे महाबाहो ! त्यसैले जसका इन्द्रियहरु आफ्नो बिषयको चाहनाबाट मुक्त भएका छन् निसन्देह, त्यसैको विवेकलाई स्थीरभएको मान्नुपर्छ |
६९
सामान्य प्राणीको रात्रिकालमा संयमीहरू जागा रहन्छन् र दिनमा तिनै मुनिहरूहरू सुतिरहेझैँ देखिन्छन् |
७०
अचल र भरिपूर्ण  समुद्रमा नदीहरू प्रवेश गरेर बिलाएझैँ विवेकशील मानिसका मनमा बिचारहरू आउदै बिलाउदै गर्छन् | यसरीनै बिबेक स्थीर भएका मानिसले शान्ति पाउछन्, अरुले होइन |
७१
जसले आफ्ना सम्पूर्ण कामनालाई त्यागेर बैरागी, अहंकार एबं ममतारहित भएर विचरण गरिरहेको छ, यथार्थमा उसले मात्र परमशान्ति प्राप्तगर्छ |
७२
हे पार्थ ! यही नै पूर्णआध्यात्मिक अवस्था हो जसलाई पाएपछि मानिस मोहग्रस्त हुँदैन | यस्तो मानिसले जीवनको अन्तिम अवस्थामा पनि ब्रह्मस्थिति प्राप्त गर्छन् |

| यसरी श्रीमद्भगवत्-गीताको गीतासार नामक दोस्रो अध्याय सकियो |

3 comments: