Thursday, December 13, 2018

अध्याय-५

                                                            पाँचौ अध्याय

अर्जुनले भने : हे कृष्ण ! हजुरले मलाई पहिले कर्मत्यागको उपदेश दिनुभयो भने अहिले कर्मयोगी बन भनेर भन्दै हुनुहुन्छ | अब यी दुवै मध्ये मेरा लागि कुन् कल्याणकारी छ, निश्चय गरेर भन्नुहोस् |
श्रीकृष्णले भन्नुभयो : मोक्ष प्राप्तिका खातिर कर्मको परित्याग र कर्मयोग दुवै उपयुक्त छन् | तर यी दुई मध्ये कर्मयोगनै महत्वपूर्ण छ |
जो कर्म र कर्मफल रागद्वेष रहित उसलाई नित्यसन्यासी भनेर बुझ्नुपर्छ | हे अर्जुन ! यस्ता मानिसले सुखदुखरूप द्वन्दबाट माथि उठेर सजिलैसँग मुक्ति प्राप्त गर्छन् |
ज्ञान र कर्मयोग फरक-फरक हुन् भन्ने धारणा केवल अल्पज्ञमा मात्र पाइन्छ न कि विद्वान्हरूमा | यी दुवै मध्ये एउटा मार्गमा लाग्ने मानिसले उचित फल पाउँछ |
सांख्ययोगका माध्यमबाट जुन फल प्राप्त गर्न सकिन्छ सोही फल कर्मयोगबात पनि प्राप्त गर्न सकिन्छ | जसले सांख्ययोग र कर्मयोगलाई समान देख्छ, असलमा त्यही व्यक्ति नै ज्ञानी हो |
कर्मको गति नबुझि सन्यासी बनेर कोही पनि सुखी हुन् सक्दैन तर कर्मको प्रभावसँग परिचितभै कर्म गर्ने कर्मयोगले सजिलैसंग परमात्मालाई प्राप्त गर्दछ |
योगी, आत्मा पवित्र भएको, आत्मसंयमी, जितेन्द्रिय एवं प्राणीमात्रलाई आफूसरह अनुभव गर्ने मानिसले कर्म गरे तापनि उसलाई कर्मको प्रभावले छुँदैन |
८-९
परमतत्वको साक्षात्कार गरेको मानिसले हेर्दा, सुन्दा, छुँदा, सुँघ्दा, खानपान गर्दा, सुत्दा, श्वास-प्रश्वास, कुराकानी गर्दा, मलमूत्र बिसर्जन गर्दा, कुनै बस्तु स्वीकार गर्दा, आँखा खुला राखेर हेर्दा वा बन्द गरेर सोचिरहँदा समेत मैले केही गरिरहेको छैन तर मेरा इन्द्रियहरुले आफ्नो प्राकृतिक कार्य गरिरहेका छन् भन्ने चिन्तन गरिरहेको हुन्छ |
१०
जसले सम्पूर्ण कर्मको फल ब्रह्मलाई अर्पण गरेर आशक्तिरहित भएर काम गर्दछ, पानीले कमलको पातलाई भिजाउन नसकेझैं उसलाई पनि पापले छुन सक्दैन | 
११
योगीहरुले सबै प्रकारको संगत छोडेर शरीर, मन, बुद्धि तथा इन्द्रियहरूले मात्र आत्म-शुद्धिका लागि कर्म गर्छन् |
१२
ममा श्रद्धा भएको मानिसले कर्मफलको अभिलाषा त्यागेर शांतिपद प्राप्त गर्छ भने ममा निष्ठा नभएको मानिस कर्मफलको लोभमा परेर बन्धनमा पर्छ |
१३
शरीरको स्वामी जीवले मानसिकरूपमै सम्पूर्ण कर्मप्रति उदासीन भइ आँफुले पनि केही नगरी र अर्कालाई पनि केही अह्राई नौवटा ढोका भएको शरीरभित्र आरामसँग निवास गर्छ |
१४
देहधारी जीवात्माले न त कर्मको सृजना गर्छ, न कर्म गर्न प्रेरित गर्छ, न ता कर्मप्रभावको रचनानै गर्दछ | यी सबै कुरा प्राकृतिक हुन्छन् |
१५
ईश्वरले न कसैको पाप स्वीकार गर्छन् न त पुण्य नै  | वास्तवमा, जीवहरू अज्ञानका कारण मोहग्रस्त छन् त्यसै मोहले तिनको मूल ज्ञानलाई ढाकेको हुन्छ |
१६
जब ज्ञानका कारणले कसैको अन्तरात्मामा रहेको अज्ञान मासिन्छ र पुन: उसको त्यो अत्यन्त तेजिलो ज्ञान गर्दा हरेक बिषय चिनिन्छन् |
१७
जब मानिसको विवेक, अन्तरात्मा, श्रद्धा एवं भक्ति परमात्मामा केन्दीत हुन्छन्, अनि मात्र उसका सबै कर्महरूको विनाश भइ, उसले सधैका लागि मुक्तिको पथमा अग्रसरता लिन्छ |
१८
एउटा विद्वान् एवं विनयशील ब्राह्मणले गाई, हात्ती, कूकुर, चण्डाल र पण्डित इत्यादि सबैलाई एकसमान देख्छ |
१९
जसले आफ्नो मनका वृत्तिहरूलाई समेटेर साम्य बनाएका छन्, तिनले यो संसारलाई जितिसकेका हुन्छन् | ती दोषरहित व्यक्ति ब्रह्मसरह नै हुन्छन् र ब्रह्ममा स्थापित हुन्छन् |
२० 
जो मन पर्ने कुरा पाएर खुसी हुँदैनन् र मन नपर्ने कुरा पाएर दुखी  हुँदैनन्, जसको बुद्धि एकाग्र छ, जो मोहरहित छ र जसले ब्रह्मतत्वलाई बुझेको छ त्यो व्यक्ति पहिलेदेखि  नै ब्रह्ममा स्थापित छ भन्ने बुझ्नुपर्छ |
२१
यस प्रकारका मुक्तात्मा बाहिरी स्थूल इन्द्रियसुखतिर आकर्षित नभई आँफुभित्र नै सुखको अनुभूति गर्छन् | यसरी आत्मलाई चिनेका मानिस ब्रह्मा लीन रहने हुँदा असीमित सुखको उपभोग गर्छन् |
२२
स्थूल इन्द्रियहरुको स्पर्शबाट उत्पन्न हुने सुखमा बुद्धिमान मानिस खुसी हुँदैन किनभने, हे कुन्तिपुत्र ! यस्ता सुखहरू स्थायी हुँदैनन् |
२३
मर्नुभन्दा पहिले जसले इन्द्रियहरूका  माध्यमबाट  उत्पन्न हुने काम र क्रोधको तीब्र चाहनालाई खप्न  सक्छ, त्यही मानिस यस संसारमा सुखी हुन्छ |
२४
जसले आँफुभित्रनै परमसुखको अनुभव गर्छ, जो अन्तर्मुखी एवं स्व:प्रकाश छ, ऊ ब्रह्मपद प्राप्त गरेको परमयोगी हो र अन्त्यमा उसले ब्रह्मपद प्राप्त गर्दछ |
२५
सन्देह-रहित, प्राणिमात्रको कल्याण गर्न लागिपरेका, निष्पाप र अन्तर्मुखी स्वभाव भएका ऋषिहरूले ब्रह्मपद प्राप्त गर्छन् |
२६
काम-क्रोधबाट मुक्त भएका र मनउपर नियन्त्रण प्राप्त गरेका आत्मज्ञानी सन्यासीले तुरुन्तै ब्रह्मपद प्राप्त गर्नेछन् | 
२७-२८
स्पर्शबाट उत्पन्न संवेदनशीलतालाई रोकेर, आँखाको गतिलाई आँखीभौँमा समेटेर, श्वास-प्रश्वासको गतिलाई नाकभित्र रोकी, मन, इन्द्रिय र बुद्धिलाई नियन्त्रणमा राख्दै मोक्षलाई आफ्नो गन्तव्य बनाउने योगी चाहना, डर र रीस रहित हुन्छ | जो सधैँ यस्तै अवस्थामा हुन्छ, त्यो नै मुक्त पुरुष हो |
२९
सम्पूर्ण यज्ञ, तपस्या, लोकहरू र समस्त देउताहरूको स्वामी मलाई नै ठान्ने र मलाई नै जीव-जगतको हितैषी भनेर जान्ने व्यक्तिले परमशान्ति पाउँछ |

|| यसरी श्रीमद्भगवत्-गीताको पाँचौ अध्याय सकियो ||








1 comment: