Thursday, December 13, 2018

अध्याय-१७

                                         सत्रौं अध्याय - श्रद्धाका प्रकार



अर्जुनले भने  हे कृष्ण ! जसले शास्त्रीय विधान छोडेर श्रद्धापूर्वक पूजा-आराधना गर्छन्, तिनको यो कर्म सत्व, रज वा तम के हुन्छ ?
भगवानले भन्नुभयो  देहधारीको प्राकृतिक स्वभावअनुसार उसको श्रद्धा पनि सत्व, रजस् र तामस गरी तीन थरीको हुन्छ | यस विषयमा सुन |
हे भारत ! आफ्नो प्राकृतिक स्वभावअनुसार हरेकको आफ्नै आस्था हुनेगर्छ र यस्तो श्रद्धा आर्जित हुन्छ |
सतोगुणीले देवताको पूजा-आराधना गर्छन्, रजोगुणीले राक्षस आदिको आराधना गर्छन् भने तमोगुणीले भूतप्रेतको पूजाआजा गर्दछन् |
जसले दम्भ र अहंकारले भरिपूर्ण भएर शास्त्रीय मर्यादा पालन नगरी काम, राग तथा बलले मातेर घोर तपस्या गर्छन् |
अनि, आफ्नो अन्तरात्माभित्र रहेका जीव-समूह र म परमात्मालाई दु:ख दिन्छन् त्यस्ता मूर्खहरूलाई असुर भनेर जान्नुपर्छ |
सबै प्राणीहरूको भोजन पनि तिनको प्रकृतिअनुसार तीनको हुन्छ भने यही नियम यज्ञ, तपस्या र दानमा समेत लागु हुन्छ | अब यसको भेद सुन |
जुन भोजनले आयु, सत्व, बल, निरोगिता, सुख र प्रेम बढाउँछ र जुन रसयुक्त, केही चिल्लो, हितकारी, स्वास्थ्यदायी र हृदयलाई आनन्ददिन्छ, यस्तो भोजन सात्विक प्रकृतिका मानिसलाई मन पर्छ |
तीतो, अमीलो, चर्को, तातो, तीखो र मुख पोल्ने भोजन राजसी मानिसलाई मन पर्छ र यस्तो भोजनले दु:ख, शोक र रोग उत्तपन्न गर्छ |
१०
बासी, स्वाद विग्रेको, गन्हाएको, विग्रिएको, जूठो र छुन पनि घीन लाग्ने भोजन तमोगुणी मानिसलाई मन पर्छ |
११
फलको आशा नराखी केवल शास्त्रीय कर्तब्यपूर्तिका लागि गरिने यज्ञ सात्विक हुन्छ |
१२
हे भरतश्रेष्ठ ! अहंकार एवं दम्भपूर्तिका निमित्त गरिने यज्ञ राजसी  हुन्छ भनेर बुझ |
१३
विधिहीन, विना अन्न, मन्त्र नपढीकन, दक्षिण बिना र श्रद्धाहिन भएर सम्पन्न गरिने यज्ञ तामसी हुन्छ |
१४
देवता, द्विज, गुरू, आमाबाबुको सम्मान गर्नु र पवित्रता, सरलता, ब्रह्मचर्य र पालन गर्नु शारीरिक तपस्या हो |
१५
सत्यता, प्रेममय, हितकारी, अरूलाई नराम्रो नलाग्ने बचन बोल्नु र शास्त्र-अध्ययनको अभ्यासको गर्नु बाणीको तपस्या हो |
१६
मनको प्रसन्नता, सरलता, मौनता, आत्म-संयम र भावमा शुद्धता यी सबै मनका तपस्या हुन् |
१७
तपस्या पनि तीन थरीका हुन्छन् जसमा श्रद्धापूर्वक, फलको इच्छा नगरी र भगवानको चिन्तन गर्दै गरिने तपस्या सात्विक हुन्छ |
१८
आदर-सम्मान र पूजा पाउनका लागि अहंकार पुर्वक गरिने तपस्यालाई राजसी तपस्या भनिन्छ भने यस्तो तपस्या अस्थायी र क्षणिक हुन्छ |
१९
मूर्खतावश आफैलाई दु:ख दिएर अरूलाई नोक्सान पुर्याउन वा अर्काको नाश गर्नका लागि जुन तपस्या गरिन्छ, त्यसलाई तामसिक तपस्या भनिन्छ |
२०
कुनै प्रकारको उपकारको आशा नराखी, केवल कर्तव्य संझेर ठीक ठाउँमा, ठीक-समयमा र सही पात्रलाई प्रदान गरिने दानलाई सात्विक मानिन्छ |
२१
सट्टामा केही पाउने आशा राखेर विना मनले दिइएको दान राजसी हुन्छ |
२२
अपवित्र स्थानमा, असमयमा, अयोग्य मानिसलाई, नजानिकन र विना आदर प्रदान गरिएको दान तामसी हुन्छ |
२३
ॐ तत्-सत् यी तीन शब्दले ब्रहमका तीन गुणतिर निर्देशन गर्छन् | ब्राह्मणहरूले यज्ञ गर्दा, ब्रह्मलाई प्रसन्न पार्न यी वैदिकमन्त्रहरू प्रयोग गर्छन् |
२४
त्यसैले ब्रह्मप्राप्तिका लागि योगिहरूले वैदिक-विधिअनुसार यज्ञ, दान र तप आरम्भ गर्दा सधैं ॐकारबाट गर्छन् |
२५
मोक्षप्राप्तिको इच्छा भएका मानिसले कर्मफलको इच्छा नराखी थरिथरिका यज्ञ, तप र दानहरू सम्पादन गर्दा तत् शब्दको उच्चारण गर्नुपर्छ |
२६
हे पार्थ ! अरूमा सद्भाव प्रकट गर्न, कसैका कामको प्रशंसा गर्न होस् वा साधुवाद दिन तत्-सत् शब्द नै प्रयोग गरिन्छ |
२७
यसैगरी यज्ञ, दान र तपस्याको मूलतत्व पनि सत् नै हो भने परमेश्वरका लागि गरिने कर्महरूको सार पनि सत् नै भएको मानिन्छ |
२८
हे पार्थ ! विना श्रद्धा गरिने दान, हवन तपस्याहरू व्यर्थ हुन्छन् | यस्ता कर्महरू असत् हुन्छन् र यी यस लोकमा र परलोकमा समेत वेकार ठहरिन्छन् |
|| यसरी श्रीमद्भगवत्-गीताको दैवी र श्रद्धायोग नामको सत्रौं अध्याय सकियो ||

No comments:

Post a Comment