Thursday, December 13, 2018

अध्याय-१३

                                         तेह्रौं अध्याय - प्रकृति, पुरुष र आत्मा


श्रीभगवानले भन्नुभयो – हे कुन्तीपुत्र ! यो शरीरलाई क्षेत्र भनिन्छ र जसले यस क्षेत्रका बारेमा जान्दछ छ, ऊ क्षेत्रज्ञ कहलाउँछ |   
(केही गीताहरूमा निम्न श्लोकसगैं यो अध्याय आरम्भ भएको पाइन्छ :
अर्जुनले भने – हे केशव ! अब म प्रकृति-पुरुष, क्षेत्र र क्षेत्रज्ञ तथा ज्ञान एवं ज्ञेयका विषयमा जान्न चाहन्छु |) 
हे भारत ! म नै समस्त शरीरको विज्ञ हुँ भन्ने तत्थ्य बुझिराख | शरीर र शरीरधारीलाई चिन्नु नै मेरो बिचारमा ज्ञान हो |
यो क्षेत्र के हो, कस्तो छ, यसमा के कस्ता गतिविधि हुन्छन, यो कहाँबाट आएको हो र यसका के-के प्रभाव छन् ? यी सबै कुरा अव विस्तारले सुन |
विभिन्न ऋषिमुनिहरूले फरक-फरक थरिका शास्त्रहरूमा फरक-फरक तवरले यस विषयमा चर्चा गरेका छन् | ब्रह्मसूत्रमा समेत यसलाई निश्चित गर्न अनेकौं परिचर्चा भएको छ |
५-६
पाँचवटा महाभूत, अहंकार, बुद्धि, अव्यक्त रहेको प्रकृति, दशैबटा इन्द्रियहरू, पाँच कर्मेन्द्रियका विषयहरू, इच्छा, द्वेष, सुख-दु:ख, शरीर, चेतना र सहनशीलता यी सबै तत्थ्यहरू संक्षेपमा क्षेत्र र यसका विकारहरू मानिन्छन् |
७-११
हे अर्जुन ! मानसम्मान नचाहने, अहंकार नभएको, अहिंसक, सहनशील, सहजता, गुरुको शरण, पवित्रता, स्थिरता, आत्मसंयम, ऐन्द्रिक विषयहरूको त्याग, मनबाटै अहंकारको त्याग, जन्म, मृत्यु, वृद्धावस्था र रोगका कारण उत्पन्न हुने दु:खहरूको जानकारी, सन्तान, स्वास्नी, घर इत्यादि संसारको जन्जालबाट उन्मुक्ति, असल-कमसल घटनाप्रति अरुचि, ममा अचल भक्तिभाव, एकान्तमा बसेर भक्ति गर्ने चाहना, भीडबाट टाढा रहने इच्छा, हरहमेशा आध्यात्मिकताप्रति अभिरुचि, परमतत्वको दार्शनिक ज्ञानप्रति जिज्ञासाजस्ता विषयहरू मेरा लागि ज्ञानका विषय हुन् भने त्यस वाहेकका विषयवस्तुहरू अज्ञानका |
१२
अब म तिमीलाई जान्नैपर्ने पर्ने तत्वका वारेमा तिमीलाई भन्छु जुन विषय जानेपछि अमृतत्व प्राप्त गर्नेछौ | त्यो मेरो ब्रह्म रूप आदि, अन्त्य र मध्यरहित छ, जसमा सबैथोक छ र छैन पनि  |
१३
त्यस ब्रह्मक हात, पाउ, आँखा, शिर, अनुहार र कानहरू सबैतिर छरिएर रहेकाछन् |  त्यो ब्रह्मतत्व सबैतिर हरेक बस्तुमा ब्याप्त छ |
१४
त्यो ब्रह्म तत्व इन्द्रियहरुको स्रोत भएर पनि इन्द्रियरहित छ, समस्त जीवको पालन भएर पनि अनासक्त छ र प्रकृतिको असली स्वामी भएर पनि प्रकृतिका दोषहरूबाट मुक्त छ |
१५
त्यो परमतत्व समस्त विश्वका प्राणीहरूमा अनुस्यूत भएर पनि वाहिर छ, टाढा भएर पनि अति-समिप छ र ज्यादै महत्वपूर्ण भएकाले सहजरूपले देख्न नसकिने छ |
१६
त्यो परमतत्व विभाजित जस्तो देखिए तापनि अविभक्त छ, एकल छ र समस्त प्राणीजगतको सृजनहार, पालनकर्ता भएर पनि सबैको विनाश गर्छ |
१७
त्यो ब्रह्मतत्व समस्त प्रकावान् बस्तुहरूको प्रकाशकीय स्रोत हो | ऊ नै प्रमुख ज्ञानको विषय, स्रोत र जान्नैपर्ने तत्व हो | ऊ नै समस्त प्राणीका हृदयमा विद्यमान छ |
१८
यसरी मैले क्षेत्र, ज्ञान र ज्ञेयका विषयमा संक्षिप्तरुपमा वर्णन गरें | मेरा भक्तहरूले मात्र यसलाई राम्ररी बुझ्न सक्छन् र मसंग भावनात्मक सम्बन्ध गाँस्छन् |
१९
प्रकृति एवं पुरुष दूबैलाई अनादि हुन् भनेर बुझ र यिनमा रहेका गुण र विकारहरू मूलत: प्राकृतिक नै भएको जान |
२०
सृष्टिको प्रमुख कर्ता र कारण प्रकृति हो भने पुरुष संसारिक सुख, दु:खको उपभोक्ताका रुपमा रहेको बुझिन्छ |
२१
पुरुषले प्राकृतिक जगतभित्र रहेर प्राकृतिक गुणहरूको उपभोग गरिरहेको हुन्छ र त्यसै कारणले बिभिन्न योनिमा गएर राम्रा-नराम्रा गुणदोषको भागीदार बन्छ |
२२
यो शरीरभन्दा बाहिर पनि एउटा भोक्ता छ जुन साक्षी, अनुमन्ता, भोक्ता, पालनकर्ता, महेश्वर र परमात्माका रूपले चिनिन्छ |
२३
जसले प्रकृति, त्यसका गुणहरू र पुरुषबीचको सम्बन्धलाई राम्री बुझ्दछ, उसले पुनर्जीवन लिनुपर्दैन र मोक्ष प्राप्त गर्छ |
२४
केहीले ध्यानका माध्यमबाट अन्तरात्मामा परमात्माको दर्शन गर्छन्, केहीले ज्ञानका माध्यमबाट, केहीले सांख्ययोग र केहीले कर्मयोगको माध्यमबाट ब्रह्म साक्षात्कार गर्दछन् |
२५
जसले परमात्मालाई जान्दैनन् तिनले अरूबाट सुनेर ब्रह्मको उपासना गर्छन् | यिनले सुनेरै भए तापनि जन्ममृत्युको चक्रबाट छुटकारा पाउँछन् |
२६
हे अर्जुन ! यो विश्वमा तिमीले जे-जति चर-अचर प्राणीहरू देखिरहेका छौ, ती सबै क्षेत्र र क्षेत्रज्ञको मिलानबाट उत्पन्न भएका हुन् भन्ने कुरा बुझ |
२७
जसले शरीरको जीव र परमात्मालाई एउटै देख्छ, नाशवानमा अविनाशी तत्वको दर्शन गर्छ, उसले नै वास्तविक अर्थात् परमसत्यको साक्षात्कार गरेको हुन्छ |
२८
जसले ब्रहमतत्वलाई समानरूपले सबै ठाउँमा ब्याप्त भएको अनुभव गर्छ, ऊ पथभ्रष्ट हुँदैन र त्यसैबाट उसले परमगति प्राप्तगर्छ |
२९
जसले प्राकृतिक शरीरले समस्त कर्महरू गरिरहेको र आत्मालाई अकर्मण्य भएको बुझ्दछ, असलमा त्यही नै सत्यको साक्षात्कारकर्ता हो |
३०
जव कुनैले फरकफरक वस्तुहरूमा एकत्व अनुभूत गर्दै सबै ठाउँमा त्यही ब्रह्म तत्व छरिएर रहेको अनुभव गर्छ, उसले ब्रह्मभाव प्राप्त गर्छ |
३१
त्यो ब्रह्मतत्व आरम्भरहित र प्राकृतिक प्रभावपरे अच्युत-आत्मा हो | ऊ शरिरी भएर पनि शरीररहित छ, न त्यो कुनै शरीरको सृजना हो र न ता ऊ कुनै बस्तुमा लिप्तछ |
३२
आकाश सर्बव्यापि भएर पनि सूक्ष्मताका कारण कहीं बाँधिदैन त्यसरी नै आत्मा सबै ठाउँमा ब्याप्त भए तापनि शरीरसंग ऊ लिप्त हुँदैन |
३३
हे अर्जुन ! जसरी एउटा सूर्यले नै समस्त विश्वलाई प्रकाशित गर्छ, त्यसरी नै शरीरमा रहेको शरीरको स्वामी आत्माले समग्र शरीरलाई प्रकाशित गर्छ |
३४
ज्ञानका आँखाबाट शरीर र शरीरका बीचमा रहेको सम्बन्धलाई बुझ्ने र प्राकृतिक बन्धनबाट स्वतन्त्रता प्राप्त गर्न जान्ने विद्वानले मोक्ष प्राप्त गर्दछन् |

|| यसरी श्रीमद्भगवत्-गीताको प्रकृति, पुरुष र आत्मा नामक तेह्रौं अध्याय सकियो ||


No comments:

Post a Comment