Thursday, December 13, 2018

अध्याय-९

                                                    नवौं अध्याय – गोपनीय ज्ञान


श्रीभगवानले भन्नुभयो - ईर्ष्यारहित भएकोले यो अति गोपनीय ज्ञान वारे तिमीलाई भन्दै छु | यो जाने पछि तिमी यस संसारका सबै खरावीबाट मुक्त हुनेछौं |
यो समस्त बिद्याहरूको राजा हो र परम गोप्य छ, यो परम पवित्र छ, यसले आत्मको साक्षात्कार गर्छ, यही नै धर्मको मूल हो भने यसलाई जानेपछि परम सुख मिल्दछ |
हे परन्तप ! यस राजयोगमा श्रद्धा नगर्ने जीवहरू मेरो साक्षात्कार नगरी फेरी जन्म-मृत्युमय संसारमा फर्किन्छन् |
यो समग्र विश्व मेरो अव्यक्त स्वरूपले छोपिएको छ, समस्त प्राणीहरू मैमा छन् तर म तिनीहरूभित्र छैन |
मैले रचेका हरेक बस्तुहरू मभित्र नहुन सक्छन् | मेरो योगशक्तिको कमाल हेर कि समस्त जगतलाई धारण गरे तापनि म यसको अंश होइन, तर म यसको परम कारण हुँ |
जसरी छरिएररहेको शक्तिशाली आकाशमा नित्य रहन्छ, त्यसरी नै जगतका समस्त प्राणीहरू ममा रहन्छन् भन्ने कुरा स्वीकार गर |
हे कौन्तेय ! सृष्टिको अन्त्यमा सबै प्राणीहरू ममा प्रवेश गर्छन् भने पुन: अर्को कल्प आरम्भ हुँदा मैले आफ्नो शक्तिद्वारा तिनको फेरी सृजना गर्छु |
यो समस्त संसार मेरो अधिनमा छ | यो जगत् मेरो चाहनाका कारण पटक-पटक स्वत: उत्पन्न हुन्छ र पुन: मेरै इच्छाले यो नाशिन्छ पनि |
हे धनन्जय ! ती समस्त कार्यले मलाई बन्धनमा पार्न सक्दैनन् | म तटस्थ छु र भौतिक क्रियाकलापप्रति मेरो कुनै अभिरूचि छैन |
१०
हे कुन्तीपुत्र ! मेरो अध्यक्षतामा यो समस्त संसार निरन्तर परिवर्तनका साथ मेरो इच्छा पूरा गर्न चलिरहेको छ |
११
मूर्खहरूले मेरो दिव्य परमेश्वर स्वरूपलाई नबुझेर मलाई अन्य शरीरधारीसरह ठानेर मेरो उपहाँस गर्छन् |
१२
प्रकृतिको मोहमा फँसेका मानिसहरु राक्षसी कर्मतिर आश्रित हुन्छन् भने यिनका समस्त चाहना, ज्ञान र कर्म व्यर्थ हुन्छन् |
१३
हे पार्थ ! महात्माजनहरू मेरो दैवी प्रकृतिको आश्रयमा रहन्छन् | तिनले मलाई समस्त जगतको आदि कर्ता जानेर अनन्य मनले मेरो आराधना गर्छन् |
१४
यी भक्तहरूले मेरो गुणगान गर्दै, दृढ ब्रतका साथ मलाई पाउने प्रयत्न गरिरहन्छन्  र भक्तिपूर्वक मलाई नमस्कार गर्दै मेरो उपासना गर्छन् |
१५
ज्ञानरूपी यज्ञमा लागेका अन्य मानिसहरू मध्ये कसैले अद्वैत, द्वैत र कसै-कसैले त विश्वरूप मै फरक-फरक तवरले मेरो उपासना गर्छन् |
१६
तर म नै वैदिक कर्मकाण्ड, यज्ञ, स्वधा, औषधि, यज्ञमा पढिने मन्त्र हूँ भने होमिने घिउ, यज्ञको आगो तथा आहुति पनि म नै हूँ |
१७
यस जगतको जन्मदाता, धारण कर्ता माता र पितामह म नै हूँ भने ज्ञानयोग्य बस्तु, पवित्रतम ॐकार, ऋगवेद, सामवेद र यजुर्वेद पनि म नै हूँ |
१८
सबैको शक्ति, पालन कर्ता, स्वामी, साक्षी, निवासस्थल, शरण लिने अन्तिम ठाउँ, र परम हितैषी मित्र पनि म नै हूँ भने सृष्टि प्रलयको आधार, आश्रयस्थल र अविनाशी बीउ पनि मलाई नै मान |
१९
हे अर्जुन ! मैले नै पृथ्वीलाई तातो बनाँउछु, यहाँ वर्षा गराउँछु अनि रोक्छु पनि | म अजर-अमर छु, महाकाल पनि म नै हूँ भने सत्-असत् म-भित्रै विद्यमान् छन् |
२०
जुन मानिसले वेदहरूको स्वाध्याय गर्छन् र सोम रस पिउछन् तिनीहरू पनि स्वर्गको कामना गर्दै मेरो आराधना गर्छन् | समस्त पापहरू समाप्त भएपछि ती फेरी स्वर्गमा जान्छन् र त्यहाँ स्वर्गीय सुख उपभोग गर्छन् |
२१
त्यहाँ अनेकौं प्रकारका दिब्य सुखहरूको उपभोग गरेर सम्पूर्ण पूण्यकर्म समाप्त भएपछि पुन: ती यही मृत्युलोकमा फर्किन्छन् | कर्मत्रयमा आशक्ति राख्नेहरू बारम्बार यस संसारमा आउने जाने गरिरहन्छन् |
२२
जसले अनन्यता पूर्वक मेरो चिन्तन र उपासना गर्छन् तिनको समस्त जिम्मेवारी मैले लिन्छु र तिनका सबै आवस्यकताहरू गरिदिन्छु |
२३
जसले अन्य देवताहरूको श्रद्धापूर्वक भजन वा आराधना गर्छन्, तिनले पनि विना विधि-विधान मेरै आराधना गरिरहेका हुन्छन् |
२४
यी सबै प्रकारका यज्ञहरूको भोक्ता र स्वामी पनि मनै हूँ अत: जसले मेरो यस्तो दिव्य स्वभावलाई चिन्दैनन्, ती अधोगतिमा पर्छन् |
२५
देवताका उपासक देवलोक जान्छन्, पितृहरूका उपासक पितृकै लोकमा पुग्छन्, प्रकृतिका उपासक प्राकृतिक हुन्छन् मेरा उपासकहरू मेरै लोकमा आउँछन् |
२६
पवित्र मनवालले भक्तिसहित पात, फूल, वा पानी जे-जस्तो अर्पण गरेपनि त्यसलाई मैले खुसीसाथ स्वीकार्छु |
२७
हे कुन्तीपुत्र ! तिमि जे गर्दछौ, जे खान्छौं, जे हवन गर्दछौ र जे-जस्तो साधना गर्छौं, त्यो सबै मलाई अर्पण गर |
२८
यसरी तिमी कर्मका राम्रा-नराम्रा प्रभावबाट मुक्त हुनेछौ र त्यागको अभ्यास गरेर मलाई प्राप्त गर्नेछौ |
२९
म सवैका निम्ति एक समान छु, मेरो शत्रु-मित्र कोही छैन | जसले मेरो भक्तिपूर्वक भजन गर्छन् तिनको सुरक्षा मैले गर्छु |
३०
असाध्य पापी भए तापनि अनन्यभावले मेरो भक्ति गर्छ भने त्यसलाई साधु नै मान्नुपर्छ किनभने ऊ आफ्नो प्रतिज्ञामा अडिग भइसक्यो |
३१
ममाथि अडिग श्रद्धा भएको मानिसले छिटो भक्ति र नित्य शान्ति प्राप्त गर्छ | त्यसैले हे अर्जुन ! मेरा भक्तहरूको कहिल्यै नाश हुने छैन भनेर घोषणा गरिदेऊ |
३२
हे अर्जुन ! मेरो शरणमा पर्नेहरूमा चाहे ती पाप योनिमा जन्मिएका स्त्री, वैश्य वा शूद्र नै किन नहोऊन्, सबै मेरो धाममा जान पाउँछन् |
३३
फेरी धर्मात्मा ब्राह्मण, भक्त राजर्षीहरूको के कुरा ? त्यसैले यो अनित्य र दु:खमय संसारमा रहेर मेरै भजन गर |
३४
मनलाई सधैं-सधैं मेरो चिन्तनमा लगाऊ, मेरो भक्त बन, मेरै आराधना र नमस्कार गर | यसरी पूर्णरुपमा ममा समर्पित भएपछि अवश्य तिमीले मलाई प्राप्त गर्नेछौ |

|| यसरी श्रीमद्भगवत्-गीताको ‘गोपनीय ज्ञान’ नामको नवौं अध्याय सकियो ||                                                             

No comments:

Post a Comment