Thursday, December 13, 2018

अध्याय-६

                                              छैठों अध्याय - ध्यानयोग
श्रीकृष्ण भन्नुहुन्छ : असलमा, जसले कर्मफलको आशा नगरी कर्तव्य पालनका लागि  कर्म गर्छ, त्यो नै योगी वा सन्यासी हुन्छ, अग्निहोत्र नगर्दैमा र निस्क्रिय रहँदैमा कोही पनि योगी वा सन्यासी हुँदैन |
हे पाण्डुपुत्र ! जसलाई सन्यास भनिन्छ त्यहीनै योग हो भनेर बुझ | मानसिक चाहनाहरूको अभावसम्म कुनै पनि योगी वा सन्यासी हुनसक्दैन |
भर्खरै योगमा प्रवेश गरेका मुनिहरुका लागि कर्मनै मोक्षको प्रमुख साधन हो भने योगीहरुका लागि शम |
भौतिक इन्द्रियहरुलाई नियन्त्रण गरेको, कर्ममा नफँसेको र सबै प्रकारका चाहनाहरूबाट स्वत्रन्त्रता प्राप्त गरेको व्यक्तिलाई योगारूढ भनिन्छ |
मानिसले आफ्नो उद्धार आफ्नै आत्माको सहयोगले गरोस् र आत्म-पतनबाट जोगियोस् किनभने स्वयं मानिस आँफुनै आफ्नो मित्र तथा शत्रु हो |
आफ्नो मानसिक-प्रवृत्तिमा विजय प्राप्त गरेका मानिसको लागि मननै मित्र हुन्छ भने मानसिक-प्रवृत्तिउपर विजय प्राप्त नगरेकाले स्वयंसंग शत्रुतापूर्ण व्यवहार गर्छन् |
आफ्ना मानसिक प्रवृत्तिउपर बिजय प्राप्त प्रशंतात्माले परमात्मालाई प्राप्त गरिसकेका हुन्छन् र तिनका लागि जाडो-गर्मी, मान-अपमान र सुख-दुखजस्ता सम्वेदनाहरू समान हुन्छन् |
ज्ञान-बिज्ञानमा पोख्त, सन्तोषी, एकनास, इन्द्रियहरूको बेगलाई जितेका र ढुङ्गो एवं सुनलाई एकनास देख्नेहरु नै योगी भनिन्छन् |
मानिस जति बेला हितैषी, साथी, उदासीन, मध्यस्थकर्ता, ईष्यालु शत्रु, बन्धुजन, पापी एवं पुण्यात्माहरूलाई समानरूपमा हेर्न सक्ने हुन्छ त्यस बखत ऊ विशिष्ट कहलाउँछ | 
१०
योगीले सदैव एकान्तमा रहेर आफ्नो मनलाई परमात्मामा लगाउनुपर्छ र ऊ सधैं एकांगी, इच्छारहित र अपरिग्रही हुनुपर्छ |
११-१२
योगको अभ्यास गर्नेले सर्वप्रथम एकान्त ठाउँ रोजेर मृगचर्म र नरम कपडाले ढाकिने गरी पवित्रठाउँको भुइँमा कुशको गुन्द्री ओच्छ्याओस् | आसन अग्लो वा होचो नहोस् | यसै आसनमा बसेर आत्मविश्वास पूर्वक मन, इन्द्रिय तथा कर्मलाई बशमा राख्दै मनलाई एकाग्र पारी आत्म शुद्धिकालागि योगमा आफुलाई लीन पारोस् |
१३-१४
आफ्नो शरीर, गर्दन र शिरलाई सोझो परेर नाकको टुप्पामा आँखा स्थीर पारोस् र मनलाई संयमित र एकाग्र तुल्याओस् | अनि, ब्रह्मचारी रहेर निर्भिकतापूर्वक एकाग्रता सहित मेरो मात्रै ध्यान गरोस् |
१५
यसरी योगको निरन्तर अभ्यासद्वारा आफ्नो मनलाई बसमा राख्न सफल योगीहरू अन्त्यकालमा शान्तिरूप निर्वाण सहित मलाई प्राप्त हुन्छन् |
१६
हे अर्जुन ! धेरै भोजन गर्ने वा थोरै खांदैनखाने, धेरै सुतिरहने वा सुत्दैनसुत्ने मानिस असल योगी हुनसक्दैन |
१७
खानपान, हिडाई-डुलाई र काम गराईमा नियमितता ल्याउँदै निद्रा र जागरण बीचको सम्बन्धलाई बुझ्ने योगले दुखबाट छुटकारा दिन्छ |
१८
जब चित्त एकाग्र भएर स्वकेन्द्रित हुन्छ र त्यसमा कुनै प्रकारका चाहना वा कामना रहन्नन्, यस्तो योगीलाई योगारूढ़ भनिन्छ |
१९
जसरी हावा नचलेको ठाउँमा  दियो  टल्पलाउदैन त्यसै गरी चित्तलाई बसमा राखेका योगिहरू आत्ममा केन्द्रीत हुन्छन् |
२०
निरन्तरको योगाभ्यासले व्यक्तिको चित्त एकाग्र हुन्छ जहाँ उसले आँफैलाई अनुभव गर्न सक्छ र आँफूमै सन्तुष्ट हुन्छ |
२१
यस्तो अवस्थामा ऊ  आफ्ना  इन्द्रियहरूका माध्यमबाट दिव्यसुखको अनुभूति गर्न सक्छ | यसरी सुखानुभूति गरेपछि ऊ अन्य सुखहरूप्रति आशक्त हुदैन र आँफूमै स्थीर रहन्छ |
२२-२३
यस्तो स्थीर सुखानुभूति पछि अन्य बिषयसुखको कुनै महत्व रहन्न र ठूलै विपदाले पनि यसमा बाधा पार्न सक्दैन | नि:सन्देह, भौतिकसंसर्गका कारण जोडिएका अनेकौं दुखहरूबाट वास्तविक छुटकारा पनि यही नै हो |
२४
साधनामा लाग्न इच्छुक मानिस मनले निश्चय गरेर विचलित नभईकन तन्मयताका साथ योगको अभ्यासमा लागोस् | सबै प्रकारका संकल्पको प्रभावबाट उन्मुक्ति प्राप्त गर्दै मनले सम्पूर्ण इन्द्रियहरूउपर पूर्ण नियन्त्रण प्राप्त गरोस् |
२५
अलि-अलि गरेर दृढताका साथ बुद्धि र मनलाई आत्ममा केन्द्रीत गर्नुपर्छ र अरूथोक सोच्नु हुँदैन |
२६
मन ज्यादै चंचल भएकोले जथाभावी दौडिरहेको हुन्छ र यसलाई तहाँबाट बारम्बार तानेर आफ्नो नियन्त्रणमा राख्नुपर्छ |
२७
मानसिक गति शान्त भएको योगीले परमसुख प्राप्त गरिरहेको हुन्छ भने यसै कारणबाट उसले पापरहित ब्रह्मको सामिप्यता प्राप्त गर्छ |
२८
यसरी हरहमेसा योगको अभ्यासमा लागिरहेको योगी, सबै पापबाट मुक्त भई, ब्रह्म सामिप्यको सर्वोच्च सुखानुभूति गर्न सफल हुन्छ |
२९
योगी-पुरुषले समस्त जीव-जगतलाई आँफुमा र आँफुलाई जीव-जगतका रूपमा देख्छ अर्थात् ऊ समदर्शी हुन्छ |
३०
जसले सबैतिर मेरो दर्शन गर्छ र म भित्र सबैथोक रहेको अनुभूति गर्छ, उसका लागि म हराउँन्न न त ऊ नै मेरा लागि हराउँछ |
३१
जसले सम्पूर्ण चराचरमा मेरो उपस्थितिलाई स्वीकारेर एकात्मक भावले मेरै सेवा गर्दछ, त्यस्तो योगी हमेशा मैमा विद्यमान भएको ठहर्छ |
३२
हे अर्जुन !  जसले समस्त  प्राणीहरूको दु:खसुखलाई आँफ्नो झैँ ठानेर समताभाव राख्छ, त्यो नै वास्तबिक योगी हुन्छ |
३३
अर्जुनले भने : हे मधुसूदन ! तपाईंले सरलरूपमा प्रवचन गरेको यो योग-पद्यति, मेरो मन अस्थिर र चंचल भएको कारणले होला, राम्ररी बुझ्न सकिन |
३४
हे कृष्ण ! यो मन अत्यन्त चंचल, अशान्त पार्ने र ज्यादै बलियो पनि छ | यसलाई बसमा राख्नु भनेको वतासलाई नियन्त्रण गर्नुझैँ असजिलो छ भन्ने मलाई लाग्छ |
३५
श्रीकृष्णले भन्नुभयो : हे महाबाहु कुन्तीपुत्र ! मन अत्यन्त चंचल र सजिलै बसमा पार्न नसकिने खालको हुन्छ भन्ने कुरामा कुनै द्विमत छैन त्यैपनि अभ्यास र वैराग्यद्वारा यसलाई जित्न सकिन्छ |
३६
मन चंचल भएको मानिसका लागि आत्म-साक्षात्कार गर्नु सजिलो हुँदैन | जसको मन संयमित छ र प्रयत्न पनि गरिरहेको छ, उसले पक्कै सफलता प्राप्त गर्छ भन्ने मेरो अभिमत रहेको छ |
३७
अर्जुनले भने : हे कृष्ण ! कसैले योगको अभ्यास सुरु गर्दा श्रद्धासंग गरेको हुन्छ तर पछि ऊ योगाभ्यासबाट विचलित भै सिद्धिबाट टाढिन पुग्छ, त्यस्तो असफल योगीको के गति हुन्छ ?
३८
हे महाबाहु कृष्ण ! ब्रह्मपथबाट विचलित भएको मानिस वादलहरु हराएझैँ आध्यात्मिक र भौतिक दुवै पथबाट वन्चित हुन्छन् ? के तिनले कुनै लोकमा ठाउँ पाउंछन् ?
३९
हे कृष्ण ! यो मेरो सन्देहलाई हटाउन सक्ने अरू कोही छैन त्यसैले मेरो मनबाट यसलाई हटाई दिनुहुँन विनम्र अनुरोध गर्दछु |
४०
भगवान्ले भन्नुभयो : हे पार्थ ! आत्मकल्याणको बाटोमा लागेको योगीको लोक-परलोक कहीं पनि नाश हुँदैन | हे तात ! कल्याणकारी कार्यमा लागेकाहरूको कहिल्यै पनि नराम्रो गति हुँदैन | 
४१
योगमा असफल भएका पुण्यात्माले परलोकमा अनेकौं जन्मसम्म सुख भोग गरेपछि सदाचारी वा धनवान् का घरमा जन्म लिने मौका पाउंछन् |
४२
अथवा यस्तो जीवात्माले विलक्षण बुद्धिमान् बाएर योगीका घरमा जन्म लिन्छ | संसारमा यस्तो जन्म सितिमिति हुँदैन |
४३
हे कुरुनन्दन ! यसरी जन्मे पछि त्यसले फेरी पूर्व जन्मकै चेतना प्राप्त पाउँछ र पुन: योगसिद्धिको पथमा अग्रसर हुन्छ |
३४
आफ्नो पूर्वजन्मको संस्कारले गर्दा नचाहेर पनि ऊ पुन: योगाभ्यासतिर नै आकर्षित हुन्छ | यस्तो जिज्ञासु सदैव वर्णनातीत हुन्छ |
३५
यस्ता पापबाट छुटकारा प्राप्त गर्दै योगमार्गमा लागि रहेका उत्तरोत्तर प्रगति गर्दै अन्त्यमा सफलता पाउंछन् |
३६
योगी तपस्वी, ज्ञानी र कर्मचारी भन्दा श्रेष्ठ वा महान् हुन्छ त्यसैले, हे अर्जुन् ! तिमी योगी बन |
३७
समस्त योगिहरूमा पनि पूर्णरूपले मेरो शरणमा परेको, म वाहेक अरूलाई नसंझिने र  श्रद्धापूर्वक मेरो भजन गरिरहँने योगी मेरो नजिक हुन्छ | मेरो विचारमा यस्तो योगीनै सर्वश्रेष्ठ हुनुपर्छ |


|| यसरी श्रीमद्भगवत्-गीताको ध्यानयोग नामको छैठौं अध्याय सकियो ||






No comments:

Post a Comment