Thursday, December 13, 2018

अध्याय-१८

                                                  अठारौं अध्याय – संन्यासयोग




अर्जुनले भने : हे महाबाहु ! मलाई संन्यासको सारतत्व भन्नुहोस्  र  हे ऋषिकेश ! त्यागको मूल प्रयोजन बारे पनि वताउनु होस् |
श्रीभगवानले भन्नुभयो : विद्वान्हरूले सांसारिक कर्महरूको परित्यागलाई संन्यास भनेका छन् भने समस्त कर्मको फलासा छोड्नुलाई त्याग भनेका छन् |
एकथरी विद्वान्हरूले हरेक कर्म ब्यबधानकारी हुन्छ भन्ने ठानेर सबै कर्मबाट संन्यास लिनुपर्छ भन्छन् भने अरू केहीले यज्ञ, दान र तपस्याजस्ता कर्मलाई कदापि छोड्नुहुन्न भन्छन् |
हे अर्जुन ! अव त्यागका विषयमा मेरो अभिमत सुन | हे पुरुषश्रेष्ठ ! शास्त्रमा तीन थरीका त्यागका बारेमा वर्णन गरिएको छ |
यज्ञ, दान तपस्या जस्ता कर्महरू छोड्न हुन्न, यी गर्नै पर्ने हुन् र यिनले मानिसलाई पवित्र तुल्याउँछन् |
हे पार्थ ! यी सबै कर्महरू फलको आशा नराखिकन शुद्ध अन्त:कारणबाट गरिनुपर्छ | यही नै मेरो अन्तिम अभिमत हो |
पूर्व-नियत गरिएका कर्महरू कहील्यै पनि छोड्नु हुन्न | यदि कसैले प्रमादवास आफ्नो पूर्व नियत कर्म छोड्छ भने यस्तो त्यागलाई तामसी त्याग भनिन्छ |
र जसले आफ्ना लागि नियत गरिएको कर्तव्य शारीरिक दु:ख पाइने डरले परित्यागकर्महरू कर्तव्यको  गर्दछ, त्यस्तो त्यागलाई राजसी त्याग भनिन्छ, यस्तो त्यागको कुनै प्रयोजन हुँदैन |
हे अर्जुन ! जसले आफ्ना समस्त निर्धारित कर्महरू स्वकर्तव्यको भावनाले, फलको आशा नराखिकन सम्पन्न गर्दछ, यस्तो कर्म सात्विक हुन्छ |
१०
यस्तो मानिस बुद्धिमान्, सन्देहरहित, परम त्यागी, शुद्ध र शान्त हुन्छ उसका लागि सबै कर्महरू न
दुखदायी हुन्छन् न् सुखदायी नै |
११
यस संसारमा एउटा देहधारी मानिसका लागि कर्म नगरिकन रहन सम्भव छैन | जसले आफ्ना समस्त कर्मफलको आशा त्यागेको छ, उही नै वास्तविक त्यागी कहलाउँछ |
१२
हरेक कर्म सुख, दुख अथवा दुवै प्रकारको मिश्रित फल प्रदान गर्ने हुन्छ र अत्यागीले ती सबै भोग्नुपर्ने पर्ने हुन्छ तर सन्यासीले यस्तो प्रतिफल भोगिरहनु पर्दैन |
१३
हे अर्जुन ! सांख्यदर्शनका अनुसार सम्पूर्ण कर्मका पाँचवटा कारण छन् | अब मबाट तिनीहरू बारे जान |
१४
कर्मको मुख्य थलो शरीर, कर्ता, इन्द्रियहरू, फरक-फरक चाहनाहरू र अन्त्यमा ईश्वर यी पाँचवटा कर्मका प्रेरक तत्व हुन् |
१५
मानिसले आफ्नो मन, बाणी र शरीरबाट राम्रो-नराम्रो जेजस्तो काम गर्छ, ती सबै उपरोक्त पाँच स्रोतबाट आएका हुन्छन् |
१६
यदि कुनै मानिसले प्रकृतिलाई कर्मको कारण नमानेर आँफुलाई कर्ता ठान्दछ भने ऊ मंद्बुद्धि हो | उसले परमसत्यको साक्षात्कार गर्न सक्दैन |
१७
जुन अहंकाररहित छ र जसको बुद्धि कर्मप्रति अनासक्त छ, उसले यी समस्त योद्धाहरूको बध गरे पनि त्यसको कर्मफलबाट मुक्त रहन्छ |
१८
ज्ञान, ज्ञानको विषय र ज्ञाता यी तीनवटा कर्मका प्रेरकतत्व तत्व हुन् भने कारण, कर्म र कर्ता यी तीनवटा तत्व कर्मका घटक हुन् |
१९
प्रकृतिको फरक-फरक गुणका कारण ज्ञान, कर्म र कर्ताका तीन विभेद भएका हुन्, अव मबाट ती भेदहरूका विषयमा पनि सुन |
२०
जुन ज्ञानबाट स्वभावत: छरिएर रहेको प्रकृतिमा अविनाशी र एकात्मकता अनुभूत हुन्छ त्यस्तो ज्ञानलाई सात्विक ज्ञान भनेर बुझ |
२१
तर जसले प्रकृतिका हरेक वस्तुलाई फरक-फरक स्वरूपमा बुझ्दछ, त्यस्तो बुझाई अर्थात् ज्ञानलाई तिमीले राजसी भनेर जान |
२२
अनि, यदि कसैले एउटै सामान्य बस्तुलाई अकारण नै एकमात्र कार्य हो भन्ने ठान्छ र त्यसैमा रमाउँछ भने यस्तो अयथार्थ र अल्प ज्ञानलाई तामसी भएको जान |
२३
फलको कुनै आसा नगरिकन, राग, द्वेष तथा संगरहित भएर हरहमेशा कर्तव्यनिष्ठ भएर गरिने कर्मलाई सात्विक भनिन्छ |
२४
जुन कर्म अहंकार र स्वेकीय इच्छापूर्तिको भावनाले परिश्रमपूर्वक सम्पन्न गरिन्छ, ती कर्महरू राजसी हुन्छन् |
२५
भावी बन्धनको पर्वाह नगरी, कसैलाई नाश पार्न, अनावश्यक बल प्रयोग गरी, हिंसात्मक र मोहग्रस्त अवस्थामा गरिएका समस्त कर्महरू तामसिक हुन्छन् |
२६
जुन व्यक्तिले अनासक्त तथा अहंकाररहित भई धैर्यशीलता र उत्साहपूर्ण तवरले कार्यको सिद्धि अथवा असिद्धिको पर्वाह नगरी कर्म गर्दछ, त्यस्तो कर्ता सतोगुणी हुन्छ |
२७
कर्म र त्यसको फलप्रति असक्त हुँदै कर्मको परिणाम उपभोग गर्न चाहने लोभी, इष्यालु, अपवित्र, सुखदुःखमा विचलित भइरहने कर्ता राजसी हुन्छ |
२८
कसैसंग नमिल्ने, भौतिकवादी, जिद्दी, कपटी, अर्काको अपकर गर्ने, अल्छी, चिन्तित र सुताहा कर्तालाई तामसी भनिन्छ |
२९
हे धनन्जय ! प्रकृतिका तीन गुणअनुसार फरक-फरक रहेका धैर्य एवं ज्ञानका बिषयमा म तिमीलाई विस्तारपूर्वक भन्छु, सुन |
३०
हे पार्थ ! जुन बुद्धिद्वारा मानिसले स्वीकार गर्नु पर्ने र त्याग्नु पर्ने, गर्नु हुने र नहुने, डर सृजित गर्ने र अभय दिने तथा बन्धन-मुक्तिका बिषयमा राम्रो तवरले बुझ्दछ, यस्तो बुद्धि सात्विक हुन्छ |
३१
हे पार्थ ! धर्म-अधर्म र कार्य-अकार्यका बीचको फरक ठीक-ठीक तवरबाट छुट्याउँन नसक्ने बुद्धि राजसी- हुन्छ |
३२
अज्ञानरूप अन्धकारमा परेर धर्मलाई अधर्म ठान्ने र अधर्मलाई धर्म ठान्ने, सधैं विपरित कर्म गर्न प्रेरित गर्ने र भ्रमित रहने बुद्धि तामसी हुन्छ |
३३
हे पार्थ ! जव योगका माध्यमबाट मनस र इन्द्रियहरू पूर्णतया नियन्त्रित हुन्छन्, त्यस्तो संकल्पलाई सात्विक भनिन्छ र यो अचल एवं अखण्ड हुन्छ |
३४
हे अर्जुन | जुन धृतिले गर्दा मानिस धर्म, अर्थ र शारीरिक-वासनामा आशक्त हुन्छ, त्यस्तो धारणा राजसिक हुन्छ |
३५
हे पार्थ ! जुन संकल्प, सपना, डर, शोक, विषाद र मोहबाट माथि जान सक्दैन यस्तो अबौद्धिक धृतिलाई तामसी भनिन्छ |
३६
हे भरतश्रेष्ठ ! अब म तीन प्रकारका सुखका विषयमा भन्दछु सुन | सुमार्गमा प्राप्त हुने सुखमा सबै प्रकारका दु:खहरूको अन्त्य-निहित हुन्छ |
३७
जो आरम्भमा बिष झैँ अनुभूत भए तापनि अन्त्यमा अमृत-सरह हुन्छ भने अन्तरात्मा एवं बुद्धिलाई आनन्द प्रदान गर्छ, त्यस्तो सुख सात्विक हुन्छ |
३८
विषय र इन्द्रियहरूको सम्बन्धबाट उत्पन्न हुने सुख जुन आरम्भमा अमृत झैँ हुन्छ र अन्त्यमा विष झैँ दुखदायी हुन्छ, यस्तो सुख राजसिक हुन्छ |
३९
जुन सुख आरम्भदेखि अन्त्यसम्म आत्मालाई मोहित गरिरहन्छ र निद्रा, आलस्य र मोहबाट जसको उत्पत्ति हुन्छ, त्यस्तो सुख तामसी हुन्छ |
४०
यो भौतिक-संसार वा स्वर्गका प्रत्येक जीवहरू प्रकृतिका यी तीनबटा गुणहरूको प्रभावबाट मुक्त छैनन् |
४१
ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रहरू आफ्नै  सह्जात प्राकृतिक गुणअनुसार फरक-फरक छन् |
४२
ब्राह्मणमा शम, दम, तप, पवित्रता, सहनशीलता, इमान्दारिता, ज्ञान, विज्ञान र आध्यात्मिकता यी सहजात प्राकृतिक गुण हुन्छन् |
४३
वीरता, शक्ति, संकल्प, उद्यमशीलता, युद्धमा उत्साह, उदारता र  नेतृत्व यी क्षत्रीका प्राकृतिक गुण हुन् |
४४
कृषि, गौपालन र वाणिज्य विषयहरूको प्राकृतिक गुण हो भने अर्काको सेवा गर्नु शूद्रस्वभावहरूको स्वाभाविक कर्म हो |
४५
आ-आफ्नो प्रकृति वा स्वभावअनुसार कर्म नियत कर्म गरेमा मानिसले सिद्धि प्राप्त गर्छ | आफ्नो लागि नियत गरिएको कर्म गरेर मानिसले कसरी सफलता प्राप्त गर्न सक्छ, त्यो पनि सुन |
४६
आफ्ना लागि नियत भएको प्राकृतिक स्वभावअनुसार कर्म गरेर भगवानको पूजा-आराधना गरेर मानिसले सिद्धि प्राप्त गर्दछ |
४७
अर्काको राम्रो ब्यबसाय अपनाउँनु भन्दा पनि केही कमसल नै भए तापनि आफ्नै स्वभाव अनुरूपको कर्म गर्नु बेस हुन्छ | आफ्नो प्रकृतिअनुसार काम गर्दा कहील्यै पनि दुख हुँदैन |
४८
हे कुन्तीपुत्र ! केही त्रुटीपूर्ण भए तापनि आफ्नो स्वभावसंग मिल्दो कर्म छोड्नु हुँदैन, किनभने धुवाले आगोलाई ढाकेझैँ हरेक कार्यमा कुनै नकुनै दोष हुन्छ नै |
४९
अनासक्त बुद्धि भएको, पूर्णरूपले मनलाई नियन्त्रण गरेको र चाहनारहित व्यक्तिले त्यागको अभ्यासका माध्यमबाट परमपद प्राप्त गर्छ |
५०
हे अर्जुन ! अव उसले कसरी ज्ञानको सर्वोच्चता अर्थात् ब्रह्मपद प्राप्त गर्छ, यो कुरा मबाट संक्षेपमा सुन |
५१
जब मानिसको बौद्धिक दृष्टिकोण सफा हुन्छ र मन पूर्णतया एकाग्र हुन्छ, शब्दादि इन्द्रिय अनुभूति समाप्त हुन्छन् र आत्मा रागद्वेसबाट माथि उठ्छ |
५२
अनि पूर्णतया एकान्त ठाउँमा निवास गर्दछ, थोरै भोजन गर्छ, शरीर मन र बोलीमा नियन्त्रण गर्दछ र हरहमेशा स्वात्म केन्द्रीत रहन्छ |
५३
अहंकार, बल, घमण्ड, काम-वासना, रीस, संग्रहरहित, अभिमान त्यागेको त्यस्तो व्यक्तिलाई ब्रह्मपद प्राप्त गरेको मान्न सकिन्छ |
५४
ब्रह्म साक्षात्कार गरेको र हरहमेशा आनन्दमा रहने, शोक र ईच्छारहित अनि, समस्त प्राणीमा समान दृष्टिकोण भएको मानिसले मेरो अपरा भक्ति प्राप्त गर्छ |
५५
भक्तिका माध्यमबाट मात्रै मानिसले मेरो असली स्वरुप चिन्न सक्छ | यसरी मलाई तात्विक रूपमा बुझेपछि ऊ ममा प्रवेश गर्दछ |
५६
यस्ता साधकले मेरो संरक्षणमा रहेर सबैथरीका काम गर्दै मेरो कृपाले अविनाशी तथा नित्य धाम प्राप्त गर्छन् |
५७
पूर्ण-चेतनामा रहेर मेरै लागि समस्त कर्म गर र बुद्धियोगको आश्रयमा रहेर निरन्तर मैमा मन लगाऊ |
५८
यदि तिम्रो चित्त पूर्णतया ममा आश्रित छ भने मेरो कृपाले सबै प्रकारका असजिलाहरू पार गर्नेछौ | यदि तिमी आत्मकेन्द्रीत छौ र आत्माको आवाज सुनेनौ भने तिम्रो विनाश हुनेछ |
५९
यदि अहंकारी भएर लडाई गर्दिन भनिरहन्छौ भने तिमी आफ्नो प्राकृतिक स्वभाव विपरित छौ र प्रकृतिले पुन: त्यसैका लागि प्रेरित गर्नेछ |
६०
हे कौन्तेय ! तिमी अहिले स्वभावत: पूर्वकर्मको प्रभावमा रुल्मुलिएकाले मोहित छौ र आफ्नो मूलकर्म गर्न चाहिरहेका छैनौ तर तिमीले नचाहे तापनि स्वभावअनुसारको कर्म गर्नै पर्नेछ | 
६१
हे अर्जुन ! ईश्वर समस्त प्राणीहरूका हृदयमा विराजमान छ र तिनलाई आफ्नो मायाले कठपुतली झैं नचाइरहेको छ |
६२
हे भारत ! तिमी पूर्णरूपले तिनकै शरणमा जाऊ, तिनकै कृपाले तिमीले परमशान्ति र अविनाशी पद प्राप्त गर्नेछौं |
६३
यस प्रक्र मैले तिमीलाई अत्यन्त गोपनीय ज्ञानका विषयमा बताए | यसका विषयमा आफ्नो अन्तरात्माले मनन गर र तिमीलाई जस्तो उचित लाग्छ, त्यही गर |
६४
तिमी मेरो ज्यादै मिल्ने साथी भएकोले फेरी तिम्रोमन मलाई कल्याणका लागि असाध्यै गोप्य ज्ञानको कुरा भन्छु, त्यो सुन |
६५
मेरै चिन्तन गर, भक्त बन, पूजा गर र मैलाई नमस्कार गर | यसो गरे तिमीले मलाई प्राप्त गर्नेछौं | मेरो प्रिय साथी भएकोले म तिमीसंग यो प्रतिज्ञा गर्दछु |
६६
सबै थरिका धर्मकर्म छोडेर मेरो शरणमा जाऊ, मैले तिमीलाई सबै थरिका पापबाट उन्मुक्ति दिने छु, नडराऊ |

६७
तिमीले यो गोप्य ज्ञान आत्म-अनुशासन नभएका, मसंग विनाकारण शत्रुता गर्ने र अभक्तलाई कुनै पनि हालतमा नबताउँनु |
६८
जसले मेरा अनन्य भक्तलाई यस गोपनीय ज्ञानको उपदेश दिन्छ, त्यसले मेरो परमभक्ति पाउँने र मलाई प्राप्त गर्नेछ |
६९
मेरो लागि यस संसारमा सो मानिस भन्दा प्यारो अर्को छैन भने भविष्यमा पनि एत्तिको प्यारो अरू कुनै मानिस हुनेछैन |     
७०
जसले हामी बीच भएको यस धार्मिक-संवादलाई सुन्छ, त्यसले आफ्नो विवेकरूप यज्याले मेरो आराधना गरेको ठहर्छ भन्ने मेरो विचार छ |
७१
जसले यो संवादलाई द्येषरहित र श्रद्धायुक्त भएर सुन्छ, त्यो मानिस सबै प्रकारका पापहरुबाट मुक्त भई धर्मात्माहरूले निवास गर्ने शुभलोक प्राप्त गर्छ |
७२
हे पार्थ, हे धनन्जय ! तिमीले मन एकाग्र गरेर मलाई सुन्यो | तिमीमा रहेको अज्ञान र मोह मासियो कि मासिएको छैन ?
७३
अर्जुनले भने : हे अच्युत ! तपाईंको कृपाले मेरो मोह मासियो र मैले फेरी स्मृति प्राप्त गरें | मेरा सबै सन्देहहरू समाप्त भई मेरो बुद्धि स्थिर भएको छ | म हजुरको हरेक आज्ञा मान्न तयार छु | 
७४
संजयले भने : यसरी मैले महापुरुष  वासुदेव कृष्ण र  अर्जुनका बीचमा भएको संवाद सुने | त्यसले मेरो शरीर रोमान्चित भइरहेको छ | 
७५
मेरा गुरु वेदव्यासको कृपाले योगेश्वर श्रीकृष्ण र अर्जुनका बीचमा भएको यो रहस्यपूर्ण संबाद मैले प्रत्यक्ष सुने |
७६
हे राजा ! जब म केशव र अर्जुनका बीचमा भएको त्यो अद्भुत एवं पुण्यदायी सम्बाद सम्झन्छु, त्यस बखत घरिघरी हर्षले भरिपूर्ण हुन्छ |
७७
हे राजा ! घरिघरी श्रीकृष्णको त्यो अतिअद्भुत र आश्चर्यजनक रूप सम्झेर म हर्षित भइरहन्छु | 
७८
जहाँ योगेश्वर श्रीकृष्ण छन् र जहाँ महान् धनुर्धारी अर्जुन छन्, त्यहीं समग्र सम्पत्ति, बिजय, परम आनन्द र सम्पूर्ण नैतिकताले बास गर्छन् भन्ने मेरा बुद्धिको पक्का निष्कर्ष छ |
|| यसरी श्रीमद्भगवत्-गीताको संन्यासयोग नामको अठारौं अध्याय सकियो ||

3 comments:

  1. ॐ नम भगवते वासुदेवाय 😍😍😍😍😍

    ReplyDelete
  2. ॐ नमो भगवते वासुदेवाय

    ReplyDelete