Thursday, December 13, 2018

अध्याय-८

                                               आठौं अध्याय - भगवानको-प्राप्ति



अर्जुनले सोधे - हे पुरुषोत्तम ! ब्रह्म के हो ? अध्यात्म के हो ? सकाम कर्म के हो ? यो भौतिक जगत् के हो र देउता के लाई भनिन्छ ? र,
हे मधुसूदन ! यज्ञको स्वामी को हो र त्यो यस शरीरमा कहाँ छ ? र मन एकाग्र भएका मानिसले मरणका बखतमा हजुरलाई कसरी जान्न सक्छन् ?
भगवान् ले भन्नुभयो: कहिल्यैपनि नाश नहुने स्वभाव भएको परमब्रह्म तत्व नै अध्यात्मको विषय हो भने भौतिकजगत्संग प्रकट एवं अलप हुने क्रियालापहरू कर्मसंग जोडिएका हुन्छन् | 
हे शरीर भएकोहरूमा श्रेष्ठ ! यो परिवर्तनशील प्रकृति नै अधिभूत हो र परमेश्वरको विराट रूपलाई नै अधिदेव भनिन्छ भने सबै प्राणीहरूको आत्मतत्व भएकोले म ईश्वर नै अधियज्ञ अथवा यज्ञको स्वामी हुँ |
मर्नेबेलामा जसले मेरो स्मरण गर्दै शरीर छोड्दछ, त्यसले तुरून्तै मलाई पाउँछ | यसमा कुनै प्रकारको शंका छैन |
हे कुन्तीपुत्र ! शरीर त्याग्ने बखतमा जसले जस्तो-जस्तो सम्झना गर्छ, उसले मरेपछि त्यस्तै शरीर पाउँछ |
त्यसैले हरहमेशा मेरो सम्झनामा आफ्नो बुद्धि एवं मन अर्पित गरी लडाईं गर | यसो गरेपछि तिमीले निश्चय नै मेरो प्राप्ति गर्नेछौं |
हे पार्थ ! जुन मानिसले अफ्नो मनलेमा हरहमेशा मेरो सम्झना गरिरहन्छ र विचलित नभई कन मेरो ध्यानमा रहिरहन्छ, उसले निश्चयनै दिब्यपद प्राप्त गर्दछ |
कवि, प्राचीनतम, नियन्ता, सूक्ष्मतम, कल्पनातीत, अचिन्त्य, समरूप, सूर्यसरह प्रकाशवान्, अन्धकाररहित दिब्य पुरुष परमात्माको स्मरण गर्नुपर्दछ |
१०
जसले मर्ने बेलामा आँखी भौँका माँझमा प्राणलाई एकाग्र परेर योगशक्तिले मनलाई स्थिर बनाई आफ्नो भक्तियुक्त मनलाई भगवानको शरणमा लगाउँछ, उसले निश्चित नै भगवानलाई प्राप्त गर्दछ |
११
प्रणवको (ॐकार) ध्यान गर्ने, वेदमा दखल भएका र परम-वैरागी सन्यासीले  ब्रह्ममा प्रवेश गर्छन् | यस्तो ब्रह्मपद चाहनेले ब्रह्मचर्य ब्रतको पालना गर्छन् | यसपछि मैले तिमीलाई मुक्ति प्राप्त गर्ने तरिका बारे भन्दछु |
१२
इन्द्रियहरूका सबै क्रियाकलाप उपर नियन्त्रण प्राप्त गर्नु नै यौगिक अवस्था हो | शरीरका समस्त ढोकाहरू र मनलाई बुद्धिले नियन्त्रण प्राप्त गरेर प्राणलाई शिरोग्र भागमा स्थापित गरी योगवास्था उपस्थित हुन्छ |
१३
जसले ॐको र मेरो स्मरण गर्दै आफ्नो शरीर त्याग्दछ, निश्चयरुपमा उसले सद्गति प्राप्त गर्दछ |
१४
हे पृथापुत्र अर्जुन ! मेरो भक्तिमा साधनारत र अनन्यता पूर्वक मेरो सम्झना गरिरहने योगीका लागि म हरहमेशा सुलभ छु |
१५
मलाई प्राप्त गरिसकेका योगिहरूले पुन: यो नासवान्, दुखैदुखले भरिपूर्ण यस जगतमा फेरी आउँनु पर्दैन | उनीहरूले परमसिद्धि पाइसकेका हुन्छन् |
१६
हे कुन्तीपुत्र ! ब्रह्मलोक देखि लिएर पृथ्वीलोकसम्मका सबै लोकमा पुनर्जन्म हुन्छ तर मेरो प्राप्तिपछि पुनर्जन्म हुँदैन |
१७
मानवीय गणना अनुसार एक हजार युगमा ब्रह्माको एक दिन हुन्छ, उहाँको रात पनि त्यति नै लामो हुन्छ | 
१८
ब्रह्माको दिन आरम्भ हुँदा सम्पूर्ण भौतिक पदार्थहरू अव्यक्तबाट व्यक्त हुन्छन् भने रात हुँदा तिनै व्यक्तबाट अव्यक्त हुन पुग्दछन् |
१९
हे पार्थ ! यसरी यो संपूर्ण भौतिक संसार ब्रह्माको दिन हुँदा बारम्बार प्रकट हुन्छन् र रात्री हुँदा हराउँछन् |
२०
यस बाहेक पनि अर्को व्यक्त र अव्यक्त भन्दा बाहिर पर्ने परप्रकृति छ जुन शाश्वत र दिब्य छ | ऊ समस्त भौतिकसंसारको विनाश हुँदा पनि रहिरहन्छ |
२१
जसलाई अव्यक्त छ, अक्षर छ भनेर विद्वानहरूले भन्ने गर्छन् तथा जसलाई सबैले आफ्नो गन्तब्य ठान्छन् र जहाँ पुगे पछि पूनरागमन हुँदैन, त्यही नै मेरो परमधाम हो |
२२
हे पार्थ ! परम पुरुष परमात्मालाई अनन्य भक्तिका माध्यमले मात्र प्राप्त गर्न सकिन्छ | समस्त विश्व उहाँ भित्र रहेको छ भने उहाँबाट नै यो यो समस्त संसार अस्तित्वमा छ |
२३
हे भरतश्रेष्ठ ! अब म तिमीलाई एक पटक संसार छोडेर गइसकेको योगी फेरी फर्केर संसारमा आउँछ कि आउँदैन भन्ने बारे क्रमिक रुपमा भन्दछु |
२४
आगोमा, उज्यालो प्रकाशमा, शुभ दिनमा,  शुक्लपक्ष र  उत्तरायणमा शरीर त्याग्ने ब्रह्मज्ञानीले ब्रह्मपद प्राप्त गर्दछन् |
२५
धुवाँमा, रातका बखत, कृष्णपक्षमा र सूर्य दक्षिणायन रहेको बेलामा शरीर त्याग्ने योगीले चन्द्रलोकमा पुगेर फेरी यहीं फर्कन्छन् |
२६
सनातन धर्मका मतमा प्रकाशमय र अन्धकारमय गरी संसारलाई त्याग्ने दूईबटा पथ छन् | प्रकाश पथबाट यात्रा गर्ने जीव फर्केर आउँदैन र अन्धकारमय पथबाट जानेहरू फर्किन्छन् |
२७
हे अर्जुन ! यी दुवै मार्ग बारे राम्ररी बुझेका कुनै पनि योगीहरू कहील्यै अल्मलिन्नन् तसर्थ, तिमी सधैं योगमा स्थिर होऊ |
२८
जसले योगमार्ग स्वीकारेको छ उसलाई वेदाध्ययन,  तपस्या, दान र सकाम कर्म गरेर पाइने प्रतिफलबाट बन्चित हुनुपर्दैन | अन्तमा यी सबै कुरा बुझेर योगीले नित्य परमधाम प्राप्त गर्दछ | 
|| यसरी श्रीमद्भगवत्-गीताको भगवानको प्राप्ति नामक आठौं अध्याय सकियो ||

No comments:

Post a Comment