Thursday, December 13, 2018

अध्याय-४

                                                          चौथो अध्याय - दिव्यज्ञान




भगवान् श्रीकृष्णले भन्नुभयो : मैले यो नित्य ज्ञान पहिलोपटक सूर्यलाई सुनाएको थिएँ | सूर्यले मनुलाई र मनुले राजा इक्श्वाकुलाई दिए |
हे परन्तप ! यसै परम्पराभित्र रहेर यो ज्ञान अन्य राजर्षीहरुले पनि प्राप्त गरे | तर समय बित्दै गएपछि यो महान् परम्परा मासियो |
आज म तिमी मेरो साथी र भक्तको नाताले त्यही पुरानो योगबिद्या सुनाउदैं छु किनभने यस प्रकारको खास ज्ञान बुझ्न तिमी समर्थ पनि छौं |
अर्जुनले भने : सूर्यको जन्म पहिला भएको हो र तपाईंको पछि, यो ज्ञान तपाईंद्वारा नै प्राचीनकालमा उपदेश दिनुभएको कुरा कसरी पत्याउँ मैले ?
भगवान् श्रीकृष्णले भन्नुभयो : हे परन्तप अर्जुन ! मेरा र तिम्रा अनेकौं जन्म बितिसकेका छन् ती सबैका बारेमा मलाई जानकारी छ, तिमीलाई छैन |
म अजन्मा छु, अमर छु र मेरो शरीर दिव्य छ र सबै प्राणीको स्वामी हूँ तथापि आफ्नो मायाका बलमा प्रकृतिलाई अंगालेर प्रकट हुन्छु |
हे भरतवंशी ! जहिले-जहिले धर्मको विनाश र पापको उत्थान हुन्छ, त्यस बखत धर्मको रक्षाका खातिर मैले अवतार धारण गर्छु |
भक्तहरुको सुरक्षा गर्न र पापीलाई नाश पारेर धर्मको पुनःस्थापना गर्न म हरेक युगमा प्रकट हुन्छु |
जसले मेरो जन्मकर्मको दिव्यतालाई तात्विकले बुझ्दछ, उसले यो भौतिक शरीर छोडेपछि पुनर्जन्म लिनुको साटो मलाई प्राप्त गर्छ |
१०
आसक्ति, क्रोध र डरबाट मुक्त भई, भित्रैबाट मेरो शरणमा परेर विगतमा धेरै मेरो ज्ञानबाट पबित्र भए अनि, मलाई प्राप्त गरे |
११
जो-जसले जुन भावनाले मेरो आराधना गर्छ, त्यसैगरी मैले पनि उसलाई सम्झँन्छु | हे पार्थ ! सबैले सबैतिरबाट मेरै बाटो अंगाल्छन् |
१२
कर्मको सफलता चाहने मानिसले यहीँ देवताहरुको पूजाआजा गर्छन् र सोही अनुरूपको फल तत्कालै यसै संसारबाट तिनलाई प्राप्त हुन्छ |
१३
मैले गुण र कर्मका आधारमा चारवर्णहरूको सृष्टि गरें | यी सबैको कारक म नै हूँ तथापि मलाई अविनाशी र अकर्ता नै बुझ |
१४
मलाई कुनै कर्मले बन्धनमा पार्न सक्दैन न त ममा कुनै कर्मफलको इच्छा नै छ | जसले मेरा बिषयमा यसरी बुझ्दछ, ऊ सांसारिक कर्मको प्रभावले बाँधिदैन |
१५
पुरानो समयका सबै ऋषिमुनीहरुले मेरो स्वभावलाई बुझेर कर्म गरेका थिए | तिमीले पनि उनीहरुको अनुगमन गर्दै आफ्नो कर्तव्य पालन गर |
१६
विद्वानहरू पनि कर्तव्य र अकर्तव्य बीचको फरक छुट्याउँदा अल्मलिन्छन्, त्यसैले म तिमीलाई कर्मको रहस्य बताऊँछु, जुनकुरा बुझेपछि तिमीले सबै प्रकारका अशुभ कर्महरुबाट छुटकारा प्राप्त गर्नेछौँ |
१७
कर्मको गहनतालाई बुझ्न असाध्यै गाह्रो छ त्यसैले कर्म, विकर्म र अकर्म के हुन् भन्ने कुरा राम्ररी बुझ्नुपर्छ |
१८ 
जसले अकर्ममा कर्म र कर्ममा अकर्म देख्दछ, त्यसलाई मनुष्यहरूमा चतुर ठान्नुपर्छ र कर्मभित्रै रहेर पनि ऊ कर्मका प्रभावबाट मुक्त रहन्छ |
१९
जसले आफ्ना सबै कर्महरूको आरम्भ कामेच्छा रहित भएर गर्छ, यस्तो ज्ञानरुपि आगोले कर्म बन्धनलाई पोलेको मानिसलाई विद्वानहरूले पण्डित भन्दछन् |
२०
कर्मफलको सबै आस त्यागेर हरहमेशा सन्तुष्ट र स्वतन्त्र रहने मानिसले कर्म गरेता पनि उसले कुनै कर्म गरेकै हुन्न |
२१
यस्तो इच्छारहित मानिस भित्रि मन र आत्माबाट नै त्यागी हुन्छ भने उसका हरेक जीवन चलाउनका लागि मात्र हुन्छ्न् | यस्तो मानिसलाई कर्मले बिटुलो बनाउँदैन |
२२
जो मानिस स्वत: प्राप्त फलबाट सन्तुष्ट, मेरो र तेरो विचारबाट मुक्त, ईर्ष्यारहित, र लाभहानिमा समतामूलक दृष्टिकोण राख्दछ, उसलाई कर्मले बाँध्न सक्दैन |
२३
आशक्तिरहित, कर्मफलको चाहनाबाट मुक्त, चित्त ज्ञानमा स्थिर भएको मानिसका सबै कर्महरू यज्ञ ठहरिन्छन् र उसले गरेका सबै कर्मफल विलाउँछन् | 
२४
ब्राह्मणले अग्निमा हवन गरेको घीऊ झैँ, ब्रह्ममय भावनायुक्त मानिसका सम्पूर्ण कर्महरू ब्रह्ममय नै हुन्छन् |
२५
केही योगीहरू थरीथरीका यज्ञ गरेर राम्रोसंग देवताहरूको आराधना गर्छन् भने अरूचाहिँ ब्रह्मरूपी यज्ञाग्नि मै आहुति चढाउँछन् |
२६
केहीले कान-आदि इन्द्रियका शब्द-आदि गुणहरू आत्म-संयमरुपी अग्निमा हवन गरेका हुन्छन् भने अर्काथरिले आफ्ना इन्द्रियरूप अग्निमै तिनको आहुति दिन्छन् |
२७
आत्मज्ञानबाट प्रकाशित भएको मानिसले सम्पूर्ण प्राण एवं इन्द्रियहरूका कर्मलाई आत्मसंयमरूपी अग्निमा आहुति दिन्छन् |
२८
आध्यात्मपथ अंगालेका केही योगीहरु द्रव्ययज्ञ, तपयज्ञ, योगयज्ञ त अन्य स्वाध्याय र ज्ञानयज्ञ आदिमा प्रतिबद्ध रहेका हुन्छन् |
२९
केही योगीहरुले समाधिस्थ रहन प्राणायाम गरेर स्वासमा नियन्त्रण प्राप्त गर्छन् र अपानवायुमा प्राणवायुलाई एवं प्राणवायुलाई अपानवायुका माध्यमबाट नियमन गर्ने प्रयत्न गर्छन् भने अन्त्यमा दुबैलाई रोकेर समाधिस्थ हुन्छन् | यस्तै केहीले खानपानलाई नियन्त्रितगरि प्राणलाई प्राणमै आहुति दिन्छन् |
३०
यी सबैले यज्ञको वास्तविक महत्व बुझेको हुनाले पापरहित हुन्छन् र अमृतसरह यज्ञको अवशेष भोजन गरेर नित्य-ब्रह्मतिर प्रस्थान गर्छन् |
३१
हे कुरुश्रेष्ठ ! यज्ञ नगर्ने मानिसका लागि यो संसार त सुख छैन भने परलोकको त के कुरा ?
३२
यी अनेक प्रकारका यज्ञहरु छरिएर रहे तापनि वेदसम्मत छन् र कर्मबाट यिनको उत्पत्ति भएको हो | यो कुरा जान्यो भने तिमी मुक्त हुनेछौं |
३३
हे तपस्वी अर्जुन ! ज्ञानमय यज्ञ द्रव्यमय यज्ञभन्दा श्रेष्ठ हो | हे पार्थ ! सम्पूर्ण कर्महरूको अवशान आखिरमा ज्ञानमै पुगेर हुन्छ |
३४
तत्वदर्शी ज्ञानीका नजिक गइ तिनलाई सेवा गर्दै प्रणाम गरेर प्रश्न गरेमा तिनले तिमीलाई परम ज्ञानको उपदेश गर्नेछन् |
३५
हे पाण्डव ! तिमीले त्यस परमतत्वका बारेमा जानेपछि यस्तो द्विविधामा फेरी कहिल्यै पर्ने छैनौं किनभने यो ज्ञान प्राप्त गरेपछि तिमीले सम्पूर्ण विश्वमा मेरो अनुभव गरिरहेको हुनेछौं |
३६
यदि तिमी पापीका राजानै कहलिएका रहेछौ भने पनि, ज्ञानरुपी नाउमा सवार सबारी गरेपछि जस्तोसुकै दुखबाट पार लाग्नेछौ |
३७
हे अर्जुन ! जलिरहेको आगोले जसरि सुकेको काठलाई खरानी पार्छ, त्यसरी नै ज्ञानरुपी अग्निले सबै कर्मप्रभावलाई भस्म पार्छ |
३८
यस संसारमा ज्ञानजस्तो परम पवित्र अरू केही छैन भने कठोर योगबाट यस्तो ज्ञान सिद्ध भएको हुन्छ | आत्माले यस्तो ज्ञानलाई उचित समयमा आफूभित्र आस्वादन गर्छ |
३९
श्रद्धा, ज्ञान र इन्द्रियउपर अधिकार प्राप्त गरेको व्यक्तिले यस्तो ज्ञान प्राप्त गर्छ र यस्तो ज्ञान प्राप्त हुँदासाथ उसले तत्कालै परमशान्तिको पाउँछ |
४०
अज्ञानी, श्रद्धाहिन र शंकालु व्यक्तिले परम ज्ञान प्राप्त गर्न सक्दैनन् भने यस्ता संशयी मानिसका लागि इहलोक र परलोक दुवैमा सुख हुँदैन र यस्ताको नाश हुन्छ |
४१
हे धनन्जय ! योगका माध्यमबाट कर्मलाई छोडेका र ज्ञानको अभ्यासबाट संशयलाई निमिट्यान्न पारेका आत्मज्ञानीलाई कुनैपनि कर्मले बाँध्न सक्दैनन् |
४२
अत: हे अर्जुन ! अज्ञानका कारणले तिम्रो मनमा जुन द्विविधा जागेको छ, त्यसलाई ज्ञानरुपी तरवारले छिनाउ र योगी बनेर युद्धका लागि उठ |

| यसरी श्रीमद्भगवत्-गीताको दिव्यज्ञान नामक चौथो अध्याय सकियो |

1 comment:

  1. हेल्लो नमस्ते पहिलो गामको किरण संगै मेरो ब्यक्तिगत तर्फबाट हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछौ।

    ReplyDelete