Thursday, December 13, 2018

अध्याय-११

                                                 एघारौं अध्याय – विश्वरूपदर्शन




अर्जुनले भने – एतिवेला, हजुरले ममा कृपा गरेर दिनु भएर अत्यन्त गोपनीय आध्यात्मिक उपदेश सुनेर मेरो मोह समाप्त भएको छ |
हे कमल नयन श्रीकृष्ण ! मैले हजुरबाट समस्त प्राणीहरूको उत्पत्ति र विनाशका विषयमा विस्तार पूर्वक सुनेको छु र तपाईं अविनाशिकोको महत्व पनि बुझेको छु |
हे परमेश्वर ! हे पुरुषोत्तम ! यद्यपि मैले यहाँ हजुरको परमेश्वर स्वरूपको दर्शन गरिरहेको छु तथापि ममा अहिले हजुरको विश्वरूपको दर्शन गर्ने अभिलाषा छ |
हे ईश्वर, हे प्रभु ! यदि हजुरले मलाई हजुरको विश्वरूप हेर्न सक्छ भन्ने ठान्नुहुन्छ भने हजुरको त्यो अब्ययरूप देखाउँनुहोस् |
श्रीभगवानले भन्नुभयो – हे पार्थ ! मेरा सयौं-हजार नानाथरिका र अनेकौं आकार-प्रकार एवं रूपरंगका दिब्य रूपहरू हेर |
हे भारत ! अब आदित्यहरू, बसुहरू, रूद्रहरू, अश्विनी कुमारहरू र मरुतहरू सहित तिमीले पहिले नदेखेका नसुनेका अनेकौं आश्चर्यजनक कुराहरू हेर |
हे गुडाकेश ! आज तिमीले हेर्ने चाहेजति कुरा एकै ठाउँ मेरो स्वरूपमा हेर र भविष्यमा तिमीले हेर्न चाहेका चराचर वस्तुहरू पनि यहाँ तिमीले देख्न सक्नेछौ |
यी तिम्रा साधारण आँखाले मलाई देख्न सकदैनन् अत: त्यसका लागि म तिमीलाई दिव्य आँखा दिन्छु, तिनैबाट मेरो दिब्य ऐश्वर्यपूर्ण रूप हेर्न समर्थ हुन्छौं |
संजयले भने – हे राजन् ! यसरी अर्जुनलाई भनेपछि महायोगेश्वर श्रीहरि कृष्णले अर्जुनलाई आफ्नो अद्भुत बिराटरूप देखाउनु भयो |
१०-११
अर्जुनले त्यस विराट रूपमा अनेकौं आँखाहरू, मुखहरू भएका र थरिथरिका गहनाले सजिएका, शस्त्रअस्त्रले लिएकाका, दिब्य माला र बस्त्रहरू पहिरिएका, अनेकौं सुगन्धित द्रव्यबाट मगमग भैरहेका र सबैलाई अचम्म पार्ने जताततै फैलिएका असंख्यौं रूपहरू त्यहाँ देखे |
१२
ती महात्मा श्रीकृष्णको त्यो दिव्य विराटरूप आकाशमा एकैपटक एकहजार सूर्यहरू उदाए झैँ तेजस्वी र प्रकाशपूर्ण थियो |
१३
अर्जुनले त्यस महान् विराटस्वरूप भित्र एकैपटक एकै ठाउँमा विविधता सहित सम्पूर्ण विश्व र देवीदेवताहरूलाई देखे |
१४
भगवानको यस्तो तेजस्वी विराटरूपलाई देखेर अर्जुन डरले थर्थरी काम्न लागे, उनको शिर निहुरियो र दुवै हात जोडेर भगवानसंग यसरी बोले –
१५
अर्जुनले भने – हे देब ! मैले हजुरको शरीरमा समस्त देवताहरू, प्राणी-समूह, कमलको आसनमा बसिरहेका ब्रह्माजी, ऋषिहरू र अद्भुत सर्पहरू पनि देखिरहेको छु |
१६
हे विश्वेश्वर, हे विश्वरूप मैले हजुरको शरीरमा जताततै फैलिएका अनन्त हातहरू, पेटहरू, मुखहरू, आँखाहरू देखिरहेको छु | मैले यी सबै कहाँबाट आरम्भ भएका छन् र कहाँसम्म फैलिएका छन् – बुझिरहेको छैन |
१७
मैले हजुहजुर्को असंख्य गदाहरू, मुकुटहरू र चक्रधारण गरेको, आफ्नो तेजिलो प्रकाशले जताजतै उज्यालो बनाइरहेको, सूर्य अथवा आगो झैँ जाजल्यामान र हेर्नलाई ज्यादै कठीन स्वरूप देखिरहेको छु |
१८
मेरो विचारमा हजुरनै जान्नुपर्ने परम तत्व हुनुहुन्छ, धर्मको रक्षक, अब्यय, सनातन र समस्त विश्वको आधारभूत परमतत्व हुनुहुन्छ |
१९
हजुरको कुनै आरम्भ, मध्य र अन्त्य छैन, हजुर परमशक्तिशाली हुनुहुन्छ, हजुरका असंख्य हात छन्, चन्द्रमा र सूर्य हजुरका आँखा हुन् | म यस वखत आफ्नो दिब्य तेजबाट समस्त विश्वलाई तताइरहेको अत्यन्त हजुरको आगो झैँ तेजिलो मुखमण्डल पनि देखिरहेको छु |
२०
हजुर एक्लै भए तापनि अन्तरीक्ष, आकाश, स्वर्ग र पृथ्वी जताततै ब्याप्त हुनुहुन्छ | हे महात्मा ! हजुरको यो अचम्मको उग्ररुप देखेर तीनैबाट लोक आकुलव्याकुल छन् |
२१
हजुको यो विराटरूपमा हुलका हुल देवताहरू प्रवेश गरिरहेका छन् भने केही डराएर हात जोडिरहेका छन् | ऋषि-मुनिका समूहहरू ‘स्वस्ति-स्वस्ति’ भन्दै अनेकौं मन्त्रले हजुरको स्तुति गरिरहेका छन् |     
२२
रुद्रहरू, आदित्यहरू, वसुहरू, साध्यगण, विश्वदेव, अश्विनीकुमार, मरुतगण, पितृगण, गन्धर्ब, यक्ष, असुरहरू र सिद्धजनहरूले समेत अचम्म मानेर हजुरको यो दिब्यरूपलाई हेरिरहेका छन् |
२३
हे महाबाहु ! हजुरका यी असंख्य मुखहरू, नेत्रहरू, असंख्य हात-पाउ, असंख्य पेटहरू र असंख्य डरलाग्दा दाँतहरू देखेर म समेत समस्त लोक विचलित भइरहेका छन् |
२४
हे विष्णु ! आकाश छुने अग्लो, अनेक रूपरंग भएको, भयानक मुख उघारेको र ठुल्ठूला आँखा भएको हजुरको यो स्वरूप देखेर डरले मेरो बुद्धि र धृति विचलित भएको छ |
२५
हे जगन्निवास, हे देवेश ! हजुरका असंख्य मुखहरू, मुख भित्र देखिने कालाग्नी सरहका भयानक दाँतहरू देखेर डरका कारण म दिग्भ्रमित भएको छु अत: म उपर प्रसन्न हुनुहोस् |
२६
हजुरको डरलाग्दा दाँत भएका मुखहरूमा आफ्ना समस्त सैनिकगण, भीष्म, द्रोण सहयोगीहरूहरू, धृतराष्ट्रका छोराहरू समेत हामीतिरका प्रमुख लडाकुहरू पनि एकाएक प्रवेश गरिरहेछन् |
२७
यसरी प्रबेशका क्रममा केही योद्धाहरूको टाउको हजुरका डरलाग्दा दाँतले किचिएर चकनाचूर भई तिनै दाँतहरूका बीच धँसिएको भयानक दृश्य यहाँ देखिन्छ |
२८
अनेकौ स-साना नदीहरू बडो वेगपूर्वक जसरी समुद्रमा होमिन्छन् त्यसरी नै यहाँ रहेका बीर यौद्धाहरू एकाएक गरेर हजुरको आगोझैँ दन्किरहेको डरलाग्दो मुखमा प्रवेश गरिरहेका छन् |
२९
जसरी पुत्लाहरू बलिरहेको दियोमा आत्महत्याका लागि जानाजान हाम फाल्छन् त्यसरीनै समस्त लोक आफ्नो विनाशका लागि हजुरको भयानक मुखमा प्रवेश गरिरहेको देखिन्छ |
३०
हे सर्बब्यापी श्रीविष्णु ! हजुरले आफ्ना डरलाग्दा मुखले समस्त लोकलाई निल्दै आफ्नो उग्रतेजबाट प्रताडित गरिरहनुभएको छ |
३१
हे श्रीकृष्ण ! ममा उपर प्रसन्न हुनुहोस् | यस्तो डरलाग्दो रूपमा देखा परेको हजुरको मूलस्वरूप कस्तो छ त्यस विषयमा मलाई बताउनुहोस् |
३२
श्रीभगवान् भन्नुहुन्छ – म यस बखत काल बनेर लोकको विनाश पार्न यहाँ आएको छु | तिमी नभए तापनि दुवैतिरका यी समस्त सेनाहरू निश्चित रूपमा मारिने नै छन् |
३३
हे सव्यसाचिन् ! त्यसैले उठ र लडाईमा मैले पहिले नै मारिसकेका यी सैनिकहरूलाई मारेर सुयश प्राप्त गर्दै ऐश्वर्यशाली राज्यको उपभोग गर | तिमी युद्धको एउटा माध्यममात्र बन |
३४
द्रोणाचार्य, पितामह भीष्म, बीर जयद्रथ, महावीर कर्ण र अन्य बीर योद्धाहरूलाई मैले पहिले नै मारिसकेको छु | त्यसैले यस विषयमा कुनै चिन्ता नगरी लडाई गर, तिमीले यी शत्रुलाई सजीलैसंग जित्नेछौं |
३५
संजयले भने – हे राजा ! भगवान् श्रीकृष्णका यी बचन सुनेपछि थरथर काम्दै अर्जुनले हातजोडेर बारम्बार उहाँलाई नमस्कार गरे | अनि, ज्यादै डराउदै अक्मकिदो स्वरमा यसरी भने |
३६
अर्जुनले भने – हे ऋषिकेश ! हजुरको यो विश्वस्वरूप देखेर समस्त विश्व हर्षित छ र हजुरकै कीर्तन गरिरहेछ | पापी राक्षसहरू डरले चारैदिसातिर भागिरहेका देखिन्छन् भने पुण्यजनहरूको समूहले तपाईलाई नमस्कार गरिरहेछ |
३७
हे परमेश्वर ! हजुर आदिपिता ब्रह्माभन्दा पनि महान् हुनुहुन्छ, अनि तिनले हजुरलाई नमस्कार किन नगरून् ? किनभने तपाई नै देब-प्रमुख, अनन्त, जगतको प्रमुख आश्रयस्थल, अक्षर र कारणहरूको पनि कारण हुनुहुन्छ |
३८
हजुर नै पुराणमा वर्णित आदिदेव, विश्वको आधार, परम ज्ञानी, प्रमुख ज्ञेय-तत्व हुनुहुन्छ भने यस भौतिकजगतबाट परे रहेर पनि यसमा ब्याप्त हुनुहुन्छ | 
३९
हजुर नै हावा, यमराज, अग्नि, वरुण, चन्द्रमा, प्रजापति र प्रपितामह पनि हुनुहुन्छ | हजुरलाई हजारौं-हजार पटक नमस्कार छ |
४०
हे कृष्ण ! हजुरलाई अगाडि, पछाडी, माथि र तल सबैतिरबाट नमन छ | हजुरको शक्ति अनन्त छ, हजुरमा सबैथोक अबस्थित छ र हजुर सर्बब्यापि परमात्मा हुनुहुन्छ |
४१
मैले अज्ञानतावस हजुरको यस्तो महानता नबुझी आफ्नै साथी ठानेर हठपूर्वक प्रेम वा प्रमादले हजुरलाई ‘हे कृष्ण, हे यादब हे मित्र भनेर सम्बोधन गरें, त्यसका लागि क्षमा पाऊं |
४२
यस्तै, सँगै आराम गर्दा, सुत्दा, भोजन गर्दा र एक्लै वा संगीहरूसंग रमाइलो गर्दा हजुरलाई अनेकौं प्रकारले सम्बोधन गरें हुँला, ती सबैका लागि हे अप्रमेय ! मलाई पुन: माफ गर्नुहोस् |
४३
हजुर यस समस्त सृष्टिका पिता, पूजनीय र गुरु हुनुहुन्छ | हजुरसरहको अथवा बराबरको अरू कोही छैन | हे अतुलनीय प्रभावबाल ! यो तिनैलोक्मा हजुरको बरावरी कसैले गर्न सक्दैन |
४४
हे देव ! तसर्थ हजुरको महान् स्वरूपप्रति म नतमस्तक छु, त्यसलाई प्रणाम गर्छु र स्तुति टक्र्याउँछु | जसरी एउटा पिताले पुत्र, मित्रले मित्र र प्रेमीले प्रेमीले गरेका अपराधहरू सजिलै क्षमा गर्छन्, मेरा अपराधहरू पनि क्षमा गर्नुहोस् |
४५
हजुरको पहिला कसैले पनि नदेखेको स्वरूप देखेर म हर्षित भएको छु भने मेरो मन डरले थरथरी कामिरहेको छ | हे देवेश, हे जगन्निवास ! ममा दया गरेर उही पहिलेको रूपमा दर्शन दिनुहोस् |
४६
हे विश्वरूप, हजारहातवाल परमेश्वर !  म पुन: हजुरको उही मुकुटधारी, हातमा शंख, चक्र, कमलको फूल धारण गरेको र चतुर्भुज रूपमा देख्न चाहन्छु |   
४७
श्रीभगवानले भन्नुभयो – हे अर्जुन ! तिमीसंग खुशी भएर मैले तिमीलाई आफ्नो योगशक्तिको प्रयोग तेजोमय, अनन्त, आदि, पहिले कसैले पनि नदेखेको आफ्नो दिब्य विश्वरूप देखाएँ |
४८
हे कुरुबीर ! वेदहरूको अध्ययन, दान-दातब्य, ठूलो तपस्या वा जस्तोसुकै कर्म गरे तापनि मेरो यस्तो रूप कसैले देख्न सक्दैन | तिमीभन्दा पहिले यस मृत्युलोकमा मेरो यस्तो विराटस्वरूप कसैले देखेको थिएन |
४९
मेरो यस्तो भयानक रूप देखेर तिमी डरायौ वा तिम्रो बुद्धि भयो होला | अव नडराऊ, सहजतामा फर्कर  फेरी उही सरलरूपमा मेरो दर्शन गर |
५०
संजयले भने – यसरी बासुदेबले अर्जुनलाई सम्बोधन गरपछि पुन: आफ्नो पुरानो स्वरुपमा फर्किनुभयो र महात्मा अर्जुनलाई सात्वना दिनुभयो |
५१
अर्जुनले भने – हे जनार्दन ! हजुरको यो सौम्य मानवरूप देखेपछि मेरो चित्त स्थीर भएको छ र म आफ्नो प्राकृतिक स्वभावमा फर्किएको छु |
५२
भगवानले भन्नुभयो – तिमीले देखिरहेको मेरो यो स्वरूप देवताहरूका लागि पनि दूर्लभ छ | उनीहरू पनि यो स्वरूपको दर्शन पाउँन सधैं-सधैं इच्छित रहन्छन् |
५३
जस्तो रूपमा तिमीले मेरो दर्शन गरिरहेका छौ, यसलाई वेदाध्यायन, तप, दान पूजा-आजाका गरेर कसैले   देख्न सक्दैन |
५४
हे अर्जुन ! म त केवल अनन्य भक्तिबाट यसरी देखिन सम्भव हुन्छु | हे परन्तप ! भक्तिभावले मात्र मलाई यथार्थरूपमा जान्न, ममा प्रवेश गर्न र मेरो दर्शन गर्न सम्भव छ |
५५
हे अर्जुन ! संगरहित भएर जसले सधैं-सधैं मेरा लागि कर्म गर्छ, मेरो भक्ति गर्छ र सबै प्राणीमाथि मैत्रिभाव राख्छ, उसले अवश्य नै मेरी प्राप्ति गर्छ वा मलाई पाउँछ |   

|| यसरी श्रीमद्भगवत्-गीताको विश्वरूपदर्शन नामक एघारौं अध्याय सकियो ||

No comments:

Post a Comment