Thursday, December 13, 2018

अध्याय-३

                                               तेस्रो अध्याय – कर्मयोग



अर्जुनले सोधे : हे केशव ! हे जनार्दन ! यदि हजुरका बिचारमा सकं कर्म भन्दा बुद्धियोग नै महत्वपूर्ण छ भने यो भयंकर युद्ध लागि मलाई किन अभिप्रेरित गर्दै हुनुहुन्छ ?
हजुरको अनेकार्थी उपदेशले मेरो बुद्धि अल्मलियो, अत: मेरो वास्तबिक कल्याण हुने बिषय मात्र बताउनुहोस् |
भगवान् ले भन्नुभयो : हे पापरहित अर्जुन ! यस संसारमा दुईथरिका विश्वास हुन्छन् भन्नेकुरा मैले तिमीलाई पहिल्यै बताई सकें | ज्ञानिले बुद्धिका माध्यमबाट तत्वको बोध गर्न चाहन्छन् भने भक्तले कर्म वा सेवा गरेर भगवानलाई जान्ने प्रयत्न गर्छन् |
न त कुनै पनि मानिसले कर्मफलबाट बिमुख भएर मुक्ति प्राप्त गर्न सक्छ न त पूर्णत्यागी बनेर मात्रै जीवनमा पूर्णता प्राप्त गर्न सक्छ |
हरेक मानिसले प्राकृतिक गुणहरुमा आधारित रहेर सोहीअनुसार कर्म गर्नैपर्छ | कर्मरहित भएर कुनै पनि मानिस एक मिनट पनि बस्न सक्दैन |
जसले कर्म-इन्द्रियहरुलाई त बसमा राखेको छ तर मनले भने इन्द्रिय-सुखकै चाहना गरिरहन्छ, यस्तो मानिसलाई कपट आचरणकारी भन्नुपर्छ |
यदि कसिअले आफ्नो मनद्वारा इन्द्रियहरुमा नियन्त्रण राख्ने इमान्दारिता पूर्ण प्रयत्न गर्दै अनाशक्त रहेर कर्म गर्छ भने ऊ कर्मयोगी र श्रेष्ठ हो |
तिमीले आफ्नो लागि प्राकृतिकरूपमा तोकिएको कर्म गर | विना काम बस्नु भन्दा कै गर्नु राम्रो हो | काम नगरिकन त तिमीले आफ्नो जीऊ पनि पाल्न सक्दैनौं |
हे कुन्तिपुत्र ! हरेक कर्म पूजा ठानेर सम्पादन गर्नुपर्छ, अन्यथा कर्मनै संसारिक बन्धनका स्रोत बन्छन् | तसर्थ, आत्मिक प्रसन्नताका लागि कर्म गर र बन्धन मुक्त होउ |
१०
(प्राचीन समयमा) प्रजापति ब्रह्माले यज्ञसंगै प्रजाहरुको सिर्जना गरे र भने तिमीहरू यज्ञका (कर्म) माध्यमबाट सुखी हुनेछौ किनभने यसका माध्यमबाट तिमीहरुले संसारका सुख र मोक्ष्य प्राप्त गर्नेछौ |
११
तिमीले गरेका यज्ञबाट प्रसन्न भएका देवताले तिमीहरुलाई सुखी बनाउने छन र यसरी देव-मानव वीच सहयोगी वातावरण बनेर सबैको कल्याण हुनेछ |
१२
तिमीले इच्छाएका हरेक जीवनोपयोगी बस्तुहरु यज्ञबाट प्रसन्न देवताले दिनेछन् तर जसले यस्ता बस्तुहरू अरुलाई नदिईकन एक्लै उपभोग गर्छ, त्यो चोर नै हो |
१३
यज्ञबाट बँचेको बस्तु अरुलाई बाँडेर बल्ल आफुले उपयोग गर्छ, ऊ महात्मा हो र सबै उसले प्रकारका पापहरुबाट उन्मुक्ति पाउछ तर यसो नगरिकन एक्लै आफ्नो लागि मात्रै उपयोग गर्नेले पापै मात्र खान्छ |
१४
सबै प्राणीहरु अन्नमा निर्भर छन्, अन्न वर्षातबाट उम्रन्छ, यज्ञ-यागादि गर्नाले वर्षा हुन्छ र यज्ञ पूर्वनिर्धारित कर्मद्वारा उत्पन्न हुन्छन् |
१५
कर्म र वेद दुवै सर्वब्यापक परमात्माबाट उत्त्पन्न भएको बुझ | त्यसैले सर्वब्यापक परमात्मा अथवा ब्रह्म यज्ञकर्ममा नै निहित छन् |
१६
हे अर्जुन ! जसले यसरी आरम्भ गरिएको कर्म-चक्रलाई मान्दैन त्यसको जीवन पापपूर्ण हुन्छ | यस्ता इन्द्रिय-सुखमा लागेको जीवन व्यर्थ मै जान्छ |
१७
र जो आफुँभित्र नै रमाउँछ, स्वत: सन्तुष्ठ छ यस्तो स्वयं सन्तोषी र सुखी मानिसका लागि कुनै पनि कर्तव्य वांकी रहन्न |
१८
यस्ता आत्मिक सन्तोष प्राप्त गरेका मनुष्यका लागि कुनै कर्म शेष रहन्न र कर्मको कुनै प्रयोजन पनि हुँदैन | ऊ पूर्णतया स्वतन्त्र अथवा परनिर्भरता रहित हुन्छ |
१९
अत: कर्मफलको आसा नगरिकन हरेक मानिसले आफ्नो कर्म गर्दै जानुपर्छ | अनासक्ति पूर्वक काम गर्दै जानेले परमात्मालाई पाउँछन् |
२०
कर्म गरेर नै जनक इत्यादिले सिद्धि प्राप्त गरेका थिए भने तिमीले पनि संसारी मानिसहरु बीच उदाहरण कै लागि भए तापनि कर्म गर्नैपर्छ |
२१
चिनिएका (आचरण असल भएका श्रेष्ठ) मानिसले जे-जस्तो काम गर्छन्, साधारण जनताले त्यसैको अनुशरण गर्छन् र तिनका कर्मलाई आदर्श ठानेर, साराको-सारा संसारले तिनै आचरणको अनुसरण गर्छ |
२२
हे पार्थ ! तिनै लोकमा मैले पूरा गर्नुपर्ने कुनै कर्तव्य छैन | मलाई केही चाहना अथवा आबश्यकता पनि छैन | तैपनि म आफ्नो कर्म गरिरहेको हुन्छ |
२३
यदि मैले मेरा लागि निर्धारित गरिएका कर्महरु साबधानी पूर्वक गरिन भने मेरै देखासिकी गरेर मानिसहरू अकर्मण्य हुनेछन् |
२४
यदि मैले मेरा लागि निर्धारित भएको कर्म गरिन भने सबै मानव-समाज खतम हुनेछ | यसरी मेरा कारण वर्णसंकर बढेपछि सबै प्रजाहरुको विनाश हुनेछ र त्यसका लागि म उत्तरदायी ठहरिने छु |
२५
जसरी एउटा साधारण मानिसले कर्मफलको आसाले कर्म गरिरहेको हुन्छ, त्यसरी नै विद्वानले गर्छ तर विद्वानले गरेको कर्म आसक्तिरहित र अरूलाई बाटो देखाउँनका निमित्त हुन्छ |
२६
ज्ञानीहरूले साधारण कर्माभिमुख मानिसको बुद्धिलाई भ्रमित पार्नु हुँदैन बरु तिनका कर्महरुलाई अनाशक्ति भावतिर फर्काएर मदत गर्नुपर्छ |
२७
हे भारत ! प्राकृतिक गुणहरुका कारण सम्पन्न भइरहेका कार्यहरुलाई आफैले गरेको ठानी मानिसहरू अहंकार गर्छन् र आफुलाई कर्ता भन्छन् |
२८
हे महाबाहो ! परमसत्यको ज्ञान भएका र कर्मको प्रभावलाई बुझेका तत्वज्ञानीले आफुलाई कर्म र त्यसको उपभोक्तासंग (इन्द्रिय) अनासक्त राख्छन् |
२९
प्राकृतिक बस्तुमा रमेका मानिसहरू, त्यसैका क्रियाकलापमा आसक्त रहन्छन् | विद्वान व्यक्तिले पनि ती अधम कर्ममा लागेका मानिसहरुलाई सुधार्न सक्दैनन् |
३०
अत: हे अर्जुन ! तिमीले आफ्ना सबै कर्महरू ममा अर्पित गरेर, बौद्धिकरूपमा मलाई चिनेर, म र मेरो तथा व्यक्तिगत लाभको लोभ त्यागेर आलस्यमुक्त भई लडाईं गर |
३१
मेरो निर्देशनअनुसार आफ्नो काम गर्दै श्रद्धायुक्त र डाह नगरिकन मेरो उपदेश पालन गर्ने मानिस संसारिक कर्मका बन्धनबाट जोगिन्छन् |
३२
जसले डाह गरेर मेरो उपदेशलाई मान्दैनन्, ती ज्ञानीनै भए तापनि मूर्ख हुन्छन् र तिनले गरेका असल कार्यहरू पनि वेकार हुन्छन् |
३३
ज्ञानी मानिसले पनि आफ्नो प्राकृतिक स्वभावअनुसारको कर्म गर्छ | सबै कर्महरू प्राकृतिक स्वभावबाट नियन्त्रित हुने भएकोले, दमनको औचित्य नै के ?
३४
इन्द्रियहरू र ती इन्द्रियहरुसंग जोडिएका रागद्वेष इत्यादि बिषयलाई नियमित पार्ने केही प्रक्रिया हुन्छन् | मोक्षको पथमा हिंडेकाहरू यस्तो बन्धनलाई काटेर अगाडि बढ्छन् |
३५
अर्काको धर्म राम्ररी गर्नुभन्दा अधकल्चो भए तापनि आफ्नै धर्ममा अडिग असल हुन्छ र आफ्नै धर्मका लागि मर्नु बेस हुन्छ | पराईको धर्म डरलाग्दो हुन्छ |
३६
अर्जुनले भने : हे कृष्ण ! त्यसोभए नचाहँदा-नचाहँदै पनि मानिसले कसैले बलात् लगाए झैँ गरी कस्तो प्रेरणाबाट अभिप्रेरित भइ पाप गर्छ ?
३७
भगवान् ले भन्नुभयो : राजोगुणबाट उत्पन्न हुने काम-बासना र क्रोध नै सम्पूर्ण पापक कारण हुन् | यिनैलाई सर्वभक्षि, सर्वपापी र महाशत्रु भनेर बुझ |
३८
धुँवाले आगो ढाकिए झैँ, ऐनालाई धुलो ढाके झैँ र भ्रूण सालनालले बेरिए झैँ जीवात्मा विषय-वासनाबाट छोपिएको हुन्छ |
३९
यसैगरी बुद्धिमान मानिसको बौधिक चेतनालाई पनि बनको डडेलो झैँ हरहमेशा दन्किरहने, नित्यशत्रु अविजेय काम-बासनाले छोपिराखेको हुन्छ |
४०
इन्द्रियहरू, मनस् र बुद्धि कामबासनाका निवासस्थल हुन् | यिनीहरुबाट सहयोग प्राप्त गरेर काम-बासनाले मानिसको ज्ञानलाई छोपिदिन्छ |
४१
त्यसैले हे अर्जुन ! अहिले तुरुन्तै आफ्ना इन्द्रियहरूलाई बसमा परेर पापरूप, ज्ञान-विज्ञानको चेतनालाई मास्ने काम-वासनालाई विनाश पार |
४२
कर्म इन्द्रियहरू भन्दा ज्ञानेन्द्रिय श्रेष्ठ छन्, ज्ञानेन्द्रियहरू भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि श्रेष्ठ मानिन्छ भने बुद्धिभन्दा पनि श्रेष्ट आत्म तत्व छ |
४३
यसरी हे अर्जुन ! बुद्धितत्वका आधारमा आत्मतत्वलाई बुझेर आफ्नो मनलाई बसमा पार र अनि, कामरूप महान् शत्रुलाई नाश पार |

| यसरी श्रीमद्भगवत्-गीताको कर्मयोग नामको तेश्रो अध्याय सकियो |

2 comments:

  1. नमस्कार मित्र जन हरु सबैलाई ।

    ReplyDelete
  2. नमस्कार मित्र जन हरु सबैलाई ।

    ReplyDelete