Thursday, December 13, 2018

अध्याय-७

                                                         सातौं अध्याय - परम-ज्ञान


श्रीभगवानले भन्नुभयो : हे पार्थ ! मलाई मनमा राखेर र ममा आसक्त भई पूर्ण संज्ञान योगाभ्यास गर्ने मानिसले कसरी मलाई जान्न सक्छ, भन |
अब मैले तिमीलाई सम्पूर्ण ज्ञान-विज्ञानको रहस्य बताउने छु जुन् कुरा बुझे पछि अरू कुनै कुरा जान्न बाँकी रहँन्न |
हजारौं मानिसहरु मध्ये कुनै एकजनाले सिद्धिका लागि प्रयत्न गर्छ, त्यस्ता हजारौंबाट मध्येबाट बल्लबल्ल कुनै एकजनाले मलाई जस्ताको तस्तै जान्दछ |
पृथ्वी, पानी, आगो, बतास, आकाश, मन, बुद्धि एवं अहंकार यी आठवटा प्राकृतिक शक्तिहरू मेरै फरक-फरक आकार-प्रकार हुन् |
हे महाबाहु अर्जुन ! उपरोक्त शक्तिहरू बाहेक अझै एउटा अपरा नामक मेरो शक्ति छ, जसले पराप्रकृति अर्थात् सम्पूर्ण जीवन-जगतलाई धानिरहेको छ |
उपरोक्त दुवै शक्तिमा आश्रित संसार रहेको र जगतको उत्पत्ति एवं विनाशको प्रमुख कारण मलाई नै बुझ |
हे धनन्जय ! म भन्दा महान् अरू केही छैन | धागोमा उनिएका मोतिका दानाझैं सम्पूर्ण विश्वनै मै-मा आश्रित रहेको छ |
हे कुन्तिपुत्र ! म पानीको स्वाद हुँ, सूर्य र चन्द्रमाको प्रकाश हुँ, बेदहरू मध्ये ॐकार हुँ, आकाशको शब्द हुँ भने मानिसहरूको पुरुषार्थ मनै हुँ |
म पृथ्वीको सुगन्ध हुँ, अग्निको दहन शक्ति हुँ, समस्त जीवहरूको जीवनी शक्ति र तपस्विहरूको तपोबल पनि म नै हुँ |
१०
हे पार्थ ! मलाई नै समस्त जीवहरूको बीजप्रद आदि पिता ठान भने बुद्धिमानहरूको बुद्धि र तेजस्वीहरूको तेज पनि मलाई नै जान |
११
हे भरतश्रेष्ठ अर्जुन ! म काम-वासना नभएका बलवानहरूको बल हुँ भने प्रकृति-विपरित कर्म गर्नेहरूमा काम-वासना पनि म नै हुँ |
१२
यी सबै सात्विक, राजसिक र तामसिक भावहरू मेरै शक्तिबाट उत्पन्न हुन्छन् भन्ने बुझ | यी सबै म-मा निर्भर छन्, मा भित्र छन् तर म यिनमा आश्रित छैन |
१३
यो सम्पूर्ण संसार उपरोक्त तीनबटा गुणको प्रभावले मोहित छ | त्यसैले म अविनाशी परमात्मालाई यसले चिन्न सक्दैन |
१४
मेरो त्रि-गुण सम्पन्न दिब्य मायाबाट सजिलै पार पाउन सकिन्न तर जसले मेरो उपासना गर्छन्, शरणमा पर्छन् ती यसबाट सजिलै जोगिन्छन् |
१५
कमसल कर्म गर्ने मूर्ख, मोहले आफ्नो असल ज्ञानलाई छोपेका, असुरको जस्तो मानिसिकता भएका मानिसहरू मेरो शरणमा आउँदैनन् |
१६
हे भरतश्रेष्ठ ! दुःखमा परेका, ज्ञानको चाहना भएका, अर्थार्थी, र परमज्ञानको चाहना भएका यी चार थरीका सुकर्मीले मेरो भजन गर्छन् |        
१७
यिनीहरूमध्ये पनि एकोहोरो रूपमा ज्ञान एवं भक्तिमा लागि परेका सर्वोत्तम हुन्छन् किनभने म तिनका निम्ति प्रिय छु र ऊ मेरा निम्ति अत्यन्त प्रिय छ |
१८
यी सबै ज्ञानीहरू म सरहनै उदारमना र महान् छन् भन्ने मेरो राय छ भने | यस प्रकारका श्रद्धालु मेरो आराधनामा रहेर उत्तम-गति प्राप्त गर्छन् |
१९
जन्म-जन्मान्तर पछि ज्ञानीले मलाई प्राप्त गर्छन् तर सम्पूर्ण जगत् बासुदेवमय छ भनेर बुझ्ने महात्मा अत्यन्त दुर्लभ हुन्छ |
२०
संसारिक कामवासनाले बुद्धि धुमील मानिसले अन्य देवताहरुको शरणमा पर्छन् र आ-आफ्नो स्वभावानुसार नियमहरू पालन गर्छन् |
२१
जसले जुन् देवताको जुन रूपमा श्रद्धा पूर्वक उपासना गरे पनि मेरै उपासना गर्न गर्छ | त्यसै रूपमा उसलाई मैले अचल भक्ति स्थिर गर्दछु |
२२
यसरी आदरपूर्वक उसले थरिथरिका देवताहरूको आराधना गर्ने प्रयत्न गर्दै आफ्नो चाहना पूरा गर्छ | असलमा, मैले नै सबै इच्छाहरू पूरा गरेको हुन्छु |
२३
अल्पज्ञानीहरूले अन्य देउताहरूको आराधना गरेर सीमित फल प्राप्त गर्छन् र मृत्युपछि स्वर्गमा जान्छन् तर मेरो आराधना गर्नेहरू मेरा समिपमा आउँछन् |
२४
मेरो असली स्वरूप नबुझेका अल्पज्ञहरू मलाई निराकार वा साकार भएको ठान्छन् | मेरो अब्यय पुरुषोत्तम स्वरूपलाई चिन्दैनन् |
२५
योगमायाको प्रभावले गर्दा अज्ञानीले मलाई देख्न सक्दैनन् र मेरो अजन्मा एवं अविनाशी स्वरूपलाई जान्न सक्दैनन् |
२६
हे अर्जुन ! मैले भूत, भविष्य र वर्तमानकालका सबै कुरा जान्दछु तर अरू कसैले मलाई जान्न सक्दैनन् |
२७
हे भरतवंशी शत्रु-विजयी अर्जुन ! समस्त जीवहरू जन्मिदा अज्ञानी हुन्छन् र इच्छा, शत्रुताबाट उब्जेको द्वन्द्वमा फंसेर अल्मलिन्छन् |
२८
जसले वर्तमान र पूर्वजन्ममा सत्कर्म गरेका छन् र पापरहित छन् तिनले सबै प्रकारका मोहको द्वन्द्वबाट मुक्त भई दृढतापूर्वक मेरो भजन गर्छन् |
२९
बुढोपन र मृत्युबाट छुटकारा चाहेका मानिसले श्रद्धापूर्वक मेरो भजन गर्छन् | आध्यात्मिक परमतत्वको ज्ञान भएका कारण ती ब्रह्मसरहनै हुन्छन् |
३०
जसले समस्त भौतिक जगत्, देवजगत् र समस्त यज्ञहरूको नियन्त्रक र कारण मलाई नै ठानेको छ, बुझेको छ त्यस्तो मन एकाग्र भएको व्यक्तिले मरणको बखतमा मलाई जान्न सक्छ |

|| यसरी श्रीमद्भगवत्-गीताको परम-ज्ञान नामक सातौं अध्याय सकियो ||

No comments:

Post a Comment