Thursday, December 13, 2018

अध्याय-१४


                                        चौधौं अध्याय - प्रकृतिका तीनवटा गुण



श्रीभगवानले भन्नुभयो – अब म तिमीसंग ज्ञानहरू मध्ये सबैभन्दा महत्वपूर्ण ज्ञानका बारेमा भन्दैछु, जसलाई बुझेर सम्पूर्ण मुनिहरूले संसारबाट मुक्ति प्राप्त पाएका थिए |
धेरै मानिसहरूले यस ज्ञानको आश्रय लिएर मेरो अंगसरह भएर मसंग जोडिए | अब सृष्टि हुँदा तिनको पुनर्जन्म हुनेछैन प्रलयले तिनको विनाश गर्नेछ |
हे अर्जुन ! विशाल ब्रहमतत्व नै सृष्टिको प्रमुख कारण हो र त्यसैलाई मैले गर्भ धारण गराउँछु | त्यसैबाट समस्त जीवात्माहरूको जन्म हुन्छ |
हे कुन्तीपुत्र ! जीवको कहींकतै र जुनसुकै योनिमा जन्म भए तापनि तिनको स्रोत र बीजप्रदाता आदिपिता म नै हुँ |
हे लामालामा हात भएका अर्जुन ! समग्र प्रकृति सत्व, रज र तम नामक तीनगुणबाट बनेको छ | यी तीनवटा गुणहरूले अब्यय जीवलाई शरीरमा बाँधेर देहधारी बनाउँछन् |
हे पापरहित अर्जुन ! सत्वगुण अरूगुणहरू भन्दा पवित्र, प्रकाशवान् र मानिसलाई पापहरूबाट  मुक्त गराउँन मदत गर्छ | यस गुणको प्रधानता भएको मानिस सुख र ज्ञानका कारण संसारमा बाँधिन्छ |
हे कुन्तीपुत्र अर्जुन ! रजोगुण रागप्रधान हुन्छ र त्यसबाट तृष्णा, मोह इत्यादिको जन्म हुन्छ | यिनै कर्म र तिनका प्रभावका कारण जीव बन्धनमा पर्छ |
हे भरतबंशी अर्जुन ! अज्ञानताका कारण उत्पन्न तमोगुण नै जीवको मोह हो | यसले जीवलाई विमूढ, आलसी र निंद्रित बनाएर बन्धनमा पार्छ |
हे भरतबंशी अर्जुन ! सत्वले सुख, रजले कर्म र तमोगुणले जीवलाई भ्रमित बनाएर बन्धनमा पर्छन् |
१०
हे भरतबंशी अर्जुन ! कहिले सत्वगुण, कहिले रजोगुण र कहिले तमोगुणले जीवमा स्वामित्व जमाउँन संघर्ष गरिरहन्छन् | कहिले कुनैले जित्छ त कहिले कुनै हार्छ, यो प्रतिष्पर्धा चलिरहन्छ |
११
जब शरीरका सबै ढोकाहरू ज्ञानरूपी किरणले प्रकाशित हुन्छन्, त्यसबेलामा सत्वगुण प्रभावकारी भएको बुझ्नुपर्छ |
१२
हे अर्जुन ! जीवनमा रजोगुणको प्रधानता हुँदा लोभ बढ्छ, कर्म गर्न अभिरुचि हुन्छ, इच्छाहरू बढ्छन् र आसक्ति बढ्छ |
१३
हे कुरुनन्दन ! तमोगुणको प्रधानता हुँदा जीवमा प्रकाशको  अभाव, जडता,  उन्मत्तता र मोहजस्ता तत्वहरू देखापर्छन् |
१४
सत्वगुणको बर्चस्व हुँदा कुनै जीवको मृत्यु हुन्छ भने त्यस जीवले सर्बोत्तम, पापरहित र महान्-लोक प्राप्त गर्छन् |
१५
रजोगुणको प्रधानता भएको बेलामा कुनै जीवले शरीरलाई छोड्छ भने उसले कर्मीहरूका बीचमा जन्मिन्छ र तमोगुणमा मर्नेहरू मूढ़ योनिमा (पशु वा रुख इत्यादि) जान्छन् |
१६
सुकृत कर्मको फल शुभ हुन्छ र त्यो सात्विक हुन्छ, रजले दु:ख जन्माउँछ भने तमोगुणले अज्ञानतालाई जन्मदिन्छ |
१७
सत्वगुणबाट ज्ञान, रजोगुणबाट लोभ र तमोगुणबाट प्रमाद, मोह, अज्ञान इत्यादि उत्पन्न हुन्छन् |
१८
सतोगुणीहरू माथिल्लो लोकमा जान्छन्, रजोगुणीहरू मध्यलोकमा घुम्छन् र तमस् स्वभाव भएका जीवले अधोलोकतिर जन्म ग्रहण गर्छन् |
१९
जव बुद्धिमान जीवले समस्त विश्वमा केवल प्रकृति र त्यसका गुणहरूको शासन चल्छ भन्ने कुरा बुझ्दछ उसले नै गुणहरूबाट पर रहेको परमतत्वलाई जान्दछ र अन्त्यमा मैलाई प्राप्त गर्छ |
२०
जुन मनुष्यले तीनवटा गुणहरुउपर विजय प्राप्त गर्छ, ऊ जन्म, मृत्यु, वृद्धावस्था र अन्य संसारिक दु:ख हरूबाट मुक्त भई अमत्व प्राप्त गर्न सफल हुन्छ |
२१
अर्जुनले भने – हे प्रभो ! मानिस त्रीगुणको प्रभावबाट मुक्त छ भनेर चिन्ने लक्षणहरू के हुन्, यस्तो मानिसको आचरण कस्तो हुन्छ र उसले प्राकृतिक गुणहरूबाट कसरी छुटकारा पाउँछ ?
२२
श्रीभगवानले भन्नुभयो – हे अर्जुन ! जसले प्रकाश, आसक्ति र मोह जस्ता विषयहरू आइलाग्दा ती प्रति घृणा, शत्रुता गर्दैन र तिनमा आसक्ति पनि राख्दैन |
२३
प्रकृतिका सबै क्रिया-प्रतिक्रियाहरूमा अविचलित रहन्छ, उदासीन रहन्छ र परिवर्तनलाई गुणहरूको विकार ठानेर ती प्रति आशक्त हुँदैन |
२४
दु:ख-सुखमा एकसमान रहन्छ, सुन र माटोलाई एकैनास मान्छ, जसका लागि प्रिय र अप्रिय समान छन्, निन्दा-स्तुतिले विचलन उत्पन्न गर्दैन |
२५
जसका लागि मान-अपमान, समान-असमान, शत्रु-मित्र सबै समान छन् र कुनै पनि कर्मआरम्भ गर्ने चाहना नभएको मानिस गुणातीत हुन्छ |
२६
जसले हरेक परिस्थितिमा अविचलित भावले मेरो भक्ति गरिरहन्छ, त्यस्तो मानिसले यी गुणहरूको जन्जाल पार गरेर सजिलैसंग ब्रहमपद प्राप्त गर्छ |
२७
अमृत, अविनाशी, अब्यय एवं एकान्त-सुखको स्रोत ब्रह्मतत्वको आधार पनि म नै हुँ अर्थात् निराकार ब्रहम ममा आश्रित छ |

|| यसरी श्रीमद्भगवत्-गीताको ‘प्रकृतिका तीनगुण’ नामक चौधौं अध्याय सकियो ||

No comments:

Post a Comment