Thursday, December 13, 2018

अध्याय-१६

                                      सोह्रौं अध्याय - दैवी र आसुरी स्वभाव


१-३
श्रीभगवानले भन्नुभयो  हे भारत ! नडराउनु, आत्मिक-पवित्रता, ज्ञान, दान, आत्म-संयम, यज्ञ, स्वाध्याय, तप, सहजता, अहिंसा, सत्यशीलता, अक्रोध, त्याग, शान्तिशीलता, अर्काको कुरा काट्न नरुचाउँनु, प्राणीमाथि दया, लोभ नगर्नु, शालीनता, लजालुपन, दृढ संकल्प, तेज, क्षमाशीलता, धृति, पवित्रता, अर्काको कुभलो नचिताउँनु, धेरै मान-सम्मानको चाहना नगर्नु इत्यादि दैवीगुणहरू केवल देवताको स्वभाव भएका मानिसमा हुन्छन् |
हे पृथापुत्र ! अहंकार, घमण्ड, रीस, रुखो बोली र अज्ञान यी सबै गुणहरू आसुरी स्वभाव भएका मानिसमा स्वत: पाइन्छन् |
दैवी गुणहरू मोक्षका लागि हुन्छन् भने आसुरी गुणहरू वन्धनका लागि | हे अर्जुन ! तिमी दैवीगुणसंग जन्मेको हुनाले चिन्ता नगर |
हे पार्थ ! यस संसारमा दैवी र आसुरी गरि दूई थरीका प्राणी छन् | दैवी-स्वभावका वारेमा मैले भनि सकेको छु भने अव मबाट आसुरी-स्वभावका वारेमा सुन |
आसुरी स्वभाव भएका मानिसले कर्तव्य के हो र अकर्तव्य के हो भन्ने कुरा जानेका हुँदैनन् | उनीहरूमा पवित्रता, सदाचार र सत्यशीलताको अभाव हुन्छ |
उनीहरूले भगवानको अस्तित्व मान्दैनन् र समस्त विश्वलाई कामवासनाको उपज भएको ठान्छन् |
यस्ता नास्तिक विचार मानेर ती अल्पज्ञानीहरू आफुसहित समस्त संसारलाई समाप्त पार्ने र अहित गर्ने काममा लागिपर्छन् |
१०
कहिल्यै नपुग्ने कामवासनाका खातिर अभिमान, बडप्पन र झुटो-प्रतिष्ठा लिएर क्रियाशील हुन्छन् नराम्रो काम गर्न प्रेरित हुन्छन् |
११
(आसुरी स्वभाव भएका मानिसहरू) - यौन-चाहना पूरा गर्नु नै जीवनको प्रमुख लक्ष हो भन्ने मान्यतामा दृढ हुन्छन् भने यसै कारण महाप्रलयको बेलासम्म पनि तिनलाई चिन्ताले छोड्दैन |
१२
लाखौं प्रकारका आशारूपी फँन्दामा बाधिएर र कामवासनाका लागि मरिहत्ते गर्दै र रीस गर्दै त्यसैका लागि अन्यायपूर्वक धन संग्रह गर्छन् |
१३
आसुरी स्वभाव भएका मानिसहरूले आज मैले एति कमाएँ र यसबाट फलानो इच्छा पूरा हुनेछ र यसो गरे भने मैले पुन: धन कमाउँनेछु |
१४
त्यो मेरो शत्रु हो र त्यसलाई मैले मारें र अरूलाई पनि मार्नेछु | म ईश्वर हुँ, म बलियो छु, मसंग सबै प्रकारको सुख छ र मैले चिताएको सबै पुग्छ |
१५
मेरा सवै नातागोता खानदानी छन्, म जस्तो अरू कुनै छैन | मैले यज्ञ गर्नेछु, दान दिने छु र रमाईलो गर्नेछु - अज्ञानका कारण मोहित भएर यसो भन्ने गर्छन् |
१६
यसरी अनेकथरिका चिन्ताले पिरोलिएका, मोहरूपी फन्दामा फँसेका र कामवासना प्रति ज्यादै आसक्त हुनेहरू अवपित्र नरकमा पर्छन् |
१७
आफैलाई मपाईं ठान्ने धन एवं मानका कारण ज्यादै घमण्डीहरूले झूटो सानका लागि विना विधि-विधान ठूला-ठूला यज्ञहरूको आयोजना गर्छन् |
१८
अहंकार, बल, घमण्ड, यौन-इच्छा र रिसाहा स्वभावको मानिसले आफूभित्र र अरू भित्र रहेको मसंग डाह र निन्दा गर्छ |
१९
मसंग डाह गर्ने र क्रूर स्वभाव भएका नराधमलाई मैले सधैं-सधैं आसुरी योनिहरूमा पठाइदिन्छु |
२०
हे कुन्तीपुत्र ! बारम्बार आसुरी योनिमा जानेले मलाई पाउँन सक्दैनन् र फेरी तल्लोस्तरको जीवन प्राप्त गर्छन् |
२१
यौनचाहना, रीस र लोभ यी तीनवटा नरकका ढोका हुन् | यिनले मानिसलाई आत्म-पतनतिर लैजाने हुँदा यिनलाई त्याग्नुपर्छ |
२२
हे कुन्तीपुत्र ! नर्कका यी तीनवटा ढोकाबाट जो जोगिन सक्छ, उसैले आफुलाई असल हुने काम गर्न सक्छ, यसैबाट उसले मोक्ष पाउँछ |
२३
जसले शास्त्रीय विधानलाई छोडेर स्वेच्छाचारी तवरले काम गर्छ, उसले न सिद्धि प्राप्त गर्छ न सुख र न मोक्ष नै प्राप्त गर्छ |
२४
त्यसैले शास्त्रीय आधारमा गर्नहुने र गर्न नहुने कार्यहरू छुट्याउँनु पर्छ र ती विधानलाई राम्ररी बुझेर सोहीअनुरूप कर्म गर्नुपर्छ |

|| यसरी श्रीमद्भगवत्-गीताको दैवी र आसुरी स्वभाव नामको सोह्रौं अध्याय सकियो ||

No comments:

Post a Comment