Thursday, December 13, 2018

अध्याय-१२

                                            बाह्रौं अध्याय – भक्तियोग


अर्जुनले भने – केही मानिसले तपाईंको अनन्यता पूर्वक निरन्तर भक्ति गर्छन् भने केहीले तपाईं कै निराकार स्वरुपको उपासना गर्छन् – यी दूई मध्ये कुनचाहिं योगमा पारंगत हुन्छ ?
श्रीभगवानले भन्नुभयो – जसले मेरो आश्रय ग्रहण गर्दै ममा मनस्थिर गरेर श्रद्धासहित मेरो उपासना गरिरहन्छ, मेरो विचारमा उही नै सिद्ध अथवा योगी पुरुष हो |
३-४
जसले आफ्ना समस्त इन्द्रियका गतिविधिलाई संयमित पारेर, कल्याणकारी भाव र समस्त संसारप्रति समान दृष्टिकोण अपनाएर अक्षर, कसैले देखाउँन नसक्ने, अव्यक्त, सर्वत्र ब्याप्त, अचिन्त्य, अचल नित्य म परमेश्वरको उपासना गर्छन् भने तिनले अन्त्यमा मलाई नै प्राप्त गर्छन् |
ईश्वरको निराकार स्वरुपको उपासना साकार स्वरूपको उपासना भन्दा ज्यादै कठीन छ | मरणशील प्राणीका लागि निराकारको उपासना गर्नु साच्चिकै गाह्रो छ |
जसले आफ्ना समस्त कर्महरू मेरो लागि त्याग गर्छन् र समग्ररूपमा आफ्नो मनलाई ममा समर्पित गर्दै अनन्य रूपले मेरो उपासना गर्छन् |
हे पार्थ ! मैले मेरो भक्ति गर्ने र हरहमेशा मेरो आराधना गर्ने भक्तलाई म आफै यस मृत्युरूप संसार-सागरबाट मुक्ति दिन्छु |
आफ्नो मनलाई ममा लगाऊ, मैमा आफ्नो बुद्धि लगाऊ किनभने तिमीले यसो गरे भविष्यमा अवश्य ममा निवास गर्नेछौं |
हे धनन्जय ! यदि तिम्रो मन ममा अविचल रुपले ममा लाग्न सक्दैन भने योगको अभ्यास गर र मलाई प्राप्त गर्ने इच्छाशक्तिको विकास गर |
१०
यदि तिमीले योगाभ्यास गर्न सक्दैनौं भने हरेक काम मलाई सम्झेर गर, यसो गर्नाले तिमीले पूर्णता प्राप्त गर्नेछौ |
११
यदि तिमीले मलाई सम्झेर कर्म पनि गर्न सक्दैनौ भने समस्त कर्मफलको इच्छा त्यागेर स्वयंलाई जान्ने प्रयत्न गर |
१२
कर्मको अभ्यास गर्नुभन्दा ज्ञान श्रेष्ठ हुन्छ, ज्ञान भन्दा ध्यान, ध्यान भन्दा कर्मफल त्याग महान् हुन्छ किनभने यसबाट मानिसले आत्मिक शान्ति प्राप्तगर्छ |
१३-१४
समस्त जीवहरूमा समभाव, मित्रता, करुणा राख्ने, ममत्व एवं अहंकाररहित, दु:ख-सुखमा एक समान रहने, क्षमा दिने, सन्तोषी, आत्मसंयमी, योगाभ्यासमा प्रतिबद्धता भएको र आफ्नो मन तथा बुद्धिलाई ममा समर्पित गरेको भक्त मलाई अतिप्रिय हुन्छ |
१५
जसबाट लोकलाई कुनै डर हुँदैन र जो लोकको प्रभावमा पनि पर्दैन, जो सुख-दुख, डर एवं त्रासमा एकसरह रहन्छ त्यस्तो मानिस मलाई मन पर्छ |
१६
कसैबाट आस नगर्ने, पवित्र, कुशल, चिन्तारहित, उदासीन र (फल प्राप्तिका लागि) कुनै पनि प्रकारको उद्योग गर्न नचाहने भक्त मलाई प्रिय लाग्छ |
१७
कहिल्यै हर्षित नहुने, कसैसंग द्वेष नगर्ने, चिन्ता नगर्ने, आस नगर्ने र शुभ-अशुभ जस्ता भावनाबाट माथि उठेको भक्त मलाई मन पर्छ |
१८-१९
शत्रु-मित्रप्रति समान ब्यबहार राख्ने, मान-अपमानलाई एकैनाश ठान्ने, चिसो-तातो, सुख-दु:खलाई समानरूपमा ग्रहण गर्ने, संग त्यागेको, निन्दा वा स्तुतिप्रति उदासीन, मौन ब्रतमा बस्ने, आँफैमा संतुष्ठ, घरबार नभएको र स्थीरता पूर्वक ममा आफ्नो बुद्धि लगाएको भक्त मेरालागि ज्यादै प्रियहुन्छ |
२०
जसरी यहाँ धर्मरूपी अमृत तत्वको वर्णन गरियो त्यसैअनुरूप श्रद्धा र भक्तिपूर्वक मेरो उपासना गर्ने भक्तहरू मलाई ज्यादै मन पर्छन् वा प्रिय हुन्छन् |

|| यसरी श्रीमद्भगवत्-गीताको भक्तियोग नामक बाह्रौं अध्याय सकियो ||

No comments:

Post a Comment